खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा फागुन–१० गतेदेखि अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘जित्नलाई हैन सिक्नलाई खेलकूद’ भन्ने नाराका साथ वडा कार्यालय र नमूना स्पोर्टस क्लबको आयोजनामा ‘मझुवागढी रणजीतमान राई अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेन्ज कप’ फुटबल प्रतियोगिता गर्न लागिएको हो ।
एक्काइस समूहले प्रतिस्पर्धा प्रथम स्थान प्राप्त गर्नेले रु एक लाख ५५ हजार, दोस्रो स्थान प्राप्त गर्नेले एक लाख एक हजार र सेमिफाइनलिस्ट दुई समूहले रु ३१÷३१ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार ५००, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित समूहलाई नगद रु पाँच/पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको खेलकूद पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा तीनजना बाह्य खेलाडी सहभागी गराउन पाइने व्यवस्था छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा चर्चित गायक राजेशपायल राईको साङ्गीतिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष काजीमान राईले बताउनुभयो ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलमैदानमा मञ्च निर्माण, शौचालय व्यवस्थापन, खाजा घर निर्माण, खेलमैदान वरपर डोरीको घेराबारा हाल्नेलगायत व्यवस्थापनको काम पूरा भइसकेको आयोजकले जनाएको छ । प्रतियोगिता हेर्न तथा खेल्न आवतजावत गर्नेका लागि दिक्तेलबजारबाट खेलमैदानसम्म पुग्ने सडक मर्मत गर्ने कामसमेत सम्पन्न भइसकेको जनाइएको छ ।
नमूना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशिको फुटबल प्रतियोगिता आयोजना गरेको जनाइएको छ । आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबीचमा हुनेछ ।
वडा कार्यालयको पहलमा स्थानीय बासिन्दाले १८ रोपनी जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण गरिएको थियो । वडा कार्यालयको आग्रहमा स्थानीय पञ्चसेर राईले नौ, सर्वजीत राईले पाँच र हर्कराज राईले तीन रोपनी जग्गा वडाका नाममा निःशुल्क पास गरिदिएपछि खेलमैदान निर्माण शुरु गरिएको थियो ।
चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण शुरु गरिएको खेलमैदानका लागि स्थानीयवासी बालाचन्द्र राईले पनि सात रोपनी जग्गा प्रदान गर्नुभएको छ । वडा कार्यालयको रु १२ लाख ७० हजारको खर्चमा निर्माण गर्ने गरी विसं २०७६ जेठ ७ गते शिलान्यास गरिएको खेलमैदान उद्घाटनसँगै प्रतियोगिताको आयोजना गरिएको हो ।
आरसिसी कन्सल्ट प्रालिले तयार पारेको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआरअनुसार १२० मिटर लम्बाइ र ८० मिटर चौडाइको फुटबल खेलमैदान रु २० करोड ९९ लाख ७० हजार २९३ मा सम्पन्न हुने वडाध्यक्ष निर्मल राईले बताउनुभएको छ । खेलमैदानमा करीब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युत्को व्यवस्था, बस, कार तथा मोटरसाइकल पार्किङस्थल, गेष्ट रुम, चेन्जिङ रुम, वेटिङ रुमसहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारालगायतको संरचना निर्माण गर्नेगरी डिपिआर तयार पारिएको छ ।