काठमाडौं । भागरथी भट्ट हत्या काण्डले नेपाल प्रहरीको आलोचना भइरहेका बेला सो खाण्डका मुख्य अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको छ । भागरथीका सहपाठी र छिमेकीले नै उनको बलात्कार पछि हत्या गरेको बताइएको छ ।
जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिएको छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा उनीहरुमाथि कारवाही हुने प्रहरीले जनाएको छ ।
माघ २१ मा सनातन माविको कक्षा १२ मा अध्ययरत विद्यार्थी भट्ट हराएकी थिइन् । खोजतलासका क्रममा भोलिपल्ट घर फर्किने बाटो छेउ जंगलमा उनको शव भेटिएको थियो । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टम परीक्षणले उनको बलात्कारपछि हत्या भएको देखाएको थियो ।
दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा कक्षा ११ मा पढ्ने भट्टको संलग्नता पुष्टि गरेको थियो । उनले पारिवारिक प्रतिसोधका कारण भट्टको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
विगतको तुलनामा यस पटक प्रहरीले निकै सक्रियता देखाएको बुझिन्छ । निर्मला हत्या प्रकरण जस्तै यो काण्डको अनुसन्धान पनि लम्विन सक्ने विश्लेषण गरिएको थियो । तर सो क्षेत्रका उच्च पदस्थ प्रहरी अधिकृतहरु संलग्न रहेर घटनाको सुक्ष्म अनुसन्धान गरेका कारण प्रहरीले सफलता पाएको देखिन्छ ।
यसैवीच भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर बिदाइ गरेका छन् ।
भागरथी हत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीलगायत थिए ।
घटनाको अनुसन्धान गर्न डीआईजी सुवेदीसहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्ता लगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई बिदाइ गरेको दोगडाकेदार गाउँपालिका–३, का वडा अध्यक्ष चन्द्रदेव जोशीले बताएका छन् ।