काठमाडौं । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आज उनकै निवास संखमुलबाट पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गरेर मीनभवन कार्यालयमा राखेको छ ।
महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेपछि महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी पक्राउ पूर्जी दिएको छ । पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे उनले गरेको टिप्पणीप्रति आम महिलाहरुले आपत्ति जनाएका थिए । नेकपाकै अखिल नेपाल महिला संघले उनलाई कारबाही गर्न माग गरेको थियो ।
झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् ।
झाँक्री पक्राउको विरोध गर्दै दाहाल– नेपाल समूहले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ ।
सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्ति भनेका छन्, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’
लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन् । साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका छन् ।