सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ ।
हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपालिका–७ डाँडाफयाका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट पुगेका छन् ।
दाउरा बिक्री नगरेसम्म बिहान बेलुका घर परिवारलाई छाक टार्नका लागि समस्या हुने गरेको ती बालबालिकाले गुनासो गरेका छन् । अन्य दिन विद्यालय गए पनि शनिबारको दिन गाउँका प्रायः बालबालिका खर्च तथा आफ्नो कापी कलम किन्नका लागि भए पनि दाउरा बोकेर बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेका छन् ।
गाउँबाट आफूसहित घोडा खच्चड तथा झोपामा दाउराको भारी बोकाएर सिमकोटमा बिक्री गर्न आउँदा एक भारीको रु ५०० देखि रु एक हजारसम्म पर्ने गरेको स्थानीयवासी वीरबहादुर सिंहले बताउनुभयो । हिउँदको चिसो मौसममा दाउराको माग बढी हुने भएकाले कसैले रुपैयाँमा बिक्री गर्ने गरेको र कोहीले चामलसँग दाउरा साट्ने गरेको उहाँले बताउनुभयो । सिमकोटमा गाउँबाट पुर्याएको चार भारी दाउरा (३० केजी) को एक कट्ठा चामलमा साट्ने गरेको सिंहले बताउनुभयो ।
सिमकोटमा हिउँदको समयमा विद्युत् सेवा दैनिक १२ घण्टाभन्दा बढी अवरुद्ध हुने हुँदा दाउराको बढी प्रयोग हुने गरेको सिमकोटमा बसोबास गर्दै आएका राजबहादुर बोहराले बताउनुभयो । सदरमुकाम सिमकोटमा दाउरा बोकेर बिक्री गर्न डाँडाफया, चौगनफया गाउँका नागरिक मात्रै नभएर खार्पुनाथ गाउँपालिकाको मजा, छिप्रा, याङ्चुलगायतका गाउँबाट आउने गरेको बोहराले बताउनुभयो ।
हिउँदको समयमा हिमपात बढी हुने र दाउरा टिप्नका लागि वनमा जान नसकिने हुँदा गाउँबाट बिक्रीका लागि ल्याइएको दाउरा किन्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । विद्युत् नियमित नहुँदा सिमकोट बजारमा दाउराको माग बढेको हो ।
जिल्लामा गरिब तथा विपन्न बालबालिकाको जीवनस्तर माथि उठाउनका लागि बर्सेनि विभिन्न खालका अभियान, गोष्ठी, सेमिनार, तालीमजस्ता कार्यक्रममा लाखौँ रकम खर्च गरिन्छ । वास्तवमा बालबालिकासम्बन्धी नारा कागज र भाषणमै सीमित रहेको छ । – रासस