काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज सिराहामा जनप्रदर्शन गरेको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमै चुनाव हुने स्पष्ट गर्नु भएको छ । त्यसअघि ओली ढल्केबरमा नेपाल विद्युत् प्राधिकरणले बनाएको नेपालकै ठूलो सवस्टेशन (प्रसारण लाइन)को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन १ दिन पनि पर नसर्ने बताउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले विगत तीन वर्षदेखि पार्टी अलमलिएको वताउँदै सरकार र पार्टीलाई काम गर्न नदिनेहरू साइड लागेकाले अब पार्टी र सरकार गतिशिल भएर अगाडि बढेको बताउनुभएको छ ।
सरकारलाई काम गर्न नदिने र अस्थिरता ल्याउन खोजेपछि प्रतिनिधि सभा विघटन गरेर चुनावमा जान निर्णय लिएको प्रधानमन्त्री ओलीले दोहोर्याउनु भएको छ ।
देशभक्त शक्तिको पक्षमा ताजा जनादेश दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो –“देशद्रोही तत्व, देश विगार्ने र भ्रष्ट तत्वलार्इ चुनावमा साथ नदिनुस्, देश बनाउने शक्ति जुन पहिले पनि तपाईंहरुले सहयोग गर्नभएको थियो, सुशासनका र विकासका लागि लड्ने शक्तिलाई साथ दिनुस् ।”
सुशासन, विकास, शान्ति र स्थिरतका लागि फेरि पनि आफूहरुकै नेतृत्वमा सरकार बन्ने दावी गर्दै प्रधानमन्त्री ओलीले अब नक्कली सरकार खडा गर्ने, सांसद् किनबेच गर्ने सरकार बन्न नदिइने बताउनु भयो । प्रधानमन्त्री ओलीले आफूहरु देश बनाउने दिशामा अघि बढेको बताउँदै हिमाल, पहाड, तराई सबै ठाउँमा एकनासले विकास हुने वताउनु भएको छ ।
प्रतिनिधिसभा विघटन संवैधानिक भएको बताउनु हुँदै प्रधानमन्त्री ओलीले पुर्नस्थापनाका लागि अदालत र निर्वाचन रोक्न निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न चेतावनी पनि दिनु भएको छ ।
अब आन्दोलनमा कोही नअलमलिने वताउँदै शाकाहारी आन्दोलन नभएर मांशाहारी अन्दोलन गर्छौं भन्नेहरुलाई नपत्याउन पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेछन् । चिकेन चिल्ली खान खोज्या हो ?, अब नरभक्षी आन्दोलन गर्ने अवस्था छैन, गर्न पनि दिँदैनौं ।”