काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभाजित अवस्थामा पुगेको नेकपालाई एकता गराउने अभियानमा छन् ।
पार्टी एकता गराउन उनले ‘पार्टी एकता राष्ट्रिय अभियान’ सुरु गरेका छन् । यसको औपचारिक शुभारम्भ माघ १४ गते बुधबार हुने उनले जानकारी दिएका छन् । सो दिन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरेर ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्न लागेको बताइएको छ ।
कानूनी रुपमा पार्टी एक भएपनि गतिविधि र राजनीतिक हिसावमा नेकपा दुई चिरा भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एउटा पक्ष छ भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल र माधव नेपालले गरेका छन् । गौतम भने दुवै पक्षको उपाध्यक्षमा छन् । दाहाल–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरेपनि ओली पक्षमा दाहाल पनि अध्यक्ष छन् । उनको कार्यकारी अधिकार भने खोसिएको छ ।
विभाजनपछि गौतम कुनै समूहमा नखुलेपनि उनीनिकट धेरैजसो स्थानीय तहका नेताहरु नेकपाका दुवै पक्षमा खुलेर लागिसकेका छन् । गौतम भने पार्टी एकताको विकल्प नभएको तर्क गर्दै एकता गराएरै छाड्ने दावी गर्दै आएका छन् ।