भारतीय टेलिभिजन जी न्यूजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भएको पछिल्लो अन्तर्वार्ता वौद्धिक समुदायमा चर्चाको विषय बनेको छ । प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको हितलाई विर्सेर कुनै पनि राष्ट्रतिर नझुक्ने र नेपालको भूमि तथा आकाश अरु राष्ट्रको हितविरुद्ध प्रयोग हुने नदिने स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्री ओलीले भारत र चीनका बीचमा अवस्थित नेपालको भूराजनीतिक वास्तविकता चित्रण गर्दै एउटालाई रिझाउन अर्काको विरुद्ध नेपाल प्रयोग हुँदैन भन्ने विश्वास समेत दिलाउनु भएको छ । जि न्यूजका सुधिर चौधरीले लिएको सो अन्तर्वार्तामा पटकपटक प्रधानमन्त्री ओलीलाई ‘तपाई चीनतिर ढल्किदै हुनुहुन्छ’ भनेर मनोवैज्ञानिक दवाव दिन खोजए पनि प्रधानमन्त्री ओलीले नेपाल सधै तटस्थ रहेको र असंलग्न नै रहने बताउनु भएको छ ।
नेपाल र भारतको हैसियत समान भएको र दुवै सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले एकअर्काको सम्मान गर्नुपर्ने तर्क गर्दै प्रधानमन्त्री ओलीले नेपाल चीनतिर ढल्किएको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको छ ।
‘भारतले भूमि कब्जा गर्दा बोल्ने तर, चीनले भूमि कब्जा गर्दा चुप लाग्ने’ भन्ने प्रश्नको खण्डन गर्दै प्रधानमन्त्री ओलीले दुबै देशसँग समान व्यवहार लागु हुने बताउनु भएको छ । उहाँले आफ्नो सार्वभौम भूगोललाई लिएर नेपालले चीन र भारत दुबैसँग सम्झौता नगर्ने समेत बताउनु भएको छ । उहाँले पटक–पटक दुबै मुलुकबीच पारस्परिक एवं सौहाद्र्ध सम्बन्धमा जोड दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले दुई देशका समस्या वार्ताका माध्यमबाट समाधान गर्न सकिने भन्दै अहिलेको अवस्थामा उपनिवेशवादी दृष्टिकोणले कसैलाई हेर्न आवश्यक छैन भन्ने सन्देश समेत दिनु भएको छ । नेपाल र भारतबीच दाई र भाइको सम्बन्ध नरहेको बताउँदै ओलीले बदलिएको समयानुसार पारस्परिक सम्बन्ध स्थापना गर्नु जरुरी रहेको बताउनु भएको छ । उहाँले भन्नु भएको छ “यो पारस्परिक सम्मानको युग हो । यो उपनिवेशको युग होइन । भूगोल र आकारमा देशको साइज ठूलो सानो होला तर, राष्ट्रको रुपमा भारत र नेपाल समान छन् । यदि भारत इमान्दार छ भने आफूलाई बोस ठान्दैन । मोदीजी म भन्दा केही वर्षले जेठो हुनुहुन्छ व्यक्तिगतरुपमा तर, सरकार प्रमुखको रुपमा हाम्रो हैसियत एउटै हुन्छ ।”
चीनसँग नेपालको सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भारतसँग भने केही समस्या रहेको बताउनु भएको छ । नेपालले लिम्पियाधुरा र कालापानीलाई समेटेर प्रकाशन गरेको चुच्चे नक्साको ऐतिहासिकता, तथ्य र भावनालाई भारतले सम्मान गर्नुपर्ने प्रधानमन्त्रीले ओलीले बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको उल्लेख गर्नुहुँदै भारतले ती भूमि फिर्ता गर्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नु भएको छ, ‘यस विषयमा हामीले शान्त वातावरणमा, मिहीन ढंगले र प्रमाणका आधारमा कुराकानी गर्नुपर्छ । त्यो सन् २०२१ भित्रमा हल हुनेमा म विश्वस्त छु ।” प्रधानमन्त्री ओलीले सन् २०२१ लाई नेपाल र भारतको वीचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने समेत बताउनु भएको छ ।
https://youtu.be/ByCU9WjhTSc
अन्तर्वार्तामा चीनको बेल्ट एण्ड रोड परियोजना र त्यसले ल्याउने ऋणको पासोको सम्बन्धमा सोधिएको प्रश्नमा कुनै परियोजनाको लागि कुनै ऋण लिँदा सावधानी अपनाउने बताउँदै प्रधानमन्त्री ओलीले अन्य मुलुकबाट ऋण लिएजस्तै चीनबाट लिइने र त्यो सदुपयोग गर्ने बताउनु भएको छ ।
पछिल्लो समय कस्मिरको गलवान घाटीमा भारत र चीन आमनेसामने भएपछि यी दुई ठूला मुलुकबीच सुखद नभएको बताउँदै आवश्यक परे चीन र भारतको सम्वन्ध सुधार गर्न नेपालले मध्यस्थकर्ताको भूमिका खेल्न सक्ने प्रधानमन्त्री ओलीले बताउनु भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालले कुटनीतिक ‘मध्यस्थता’को भूमिका खेल्न सक्ने बताउनु भयो । “उहाँहरु दुबैजना मेरो मित्र पनि हुनुहुन्छ । हामी तीनैजनाले लगभग समान उमेरमा राजनीति पनि सुरु गरेका हौं । हामी एकअर्कालाई बुझ्न सक्छौं” प्रधानमन्त्री ओलीले भन्नु भएको छ, “नेपालले तटस्थताको राजनीति गर्छ । हामी एकको विरुद्ध अर्काको कार्ड खेल्दैनौं । हामी समदुरीको सम्बन्ध राख्न चाहन्छौं । कार्ड खेल्दा भलाइ हुँदैन ।”
“हिमालदेखि हिन्द महासागरसम्म भारत थियो, के पुगेको थिएन र भारत गरिब रह्यो ? चोमोलोङ्मादेखि मंगोलियासम्म चीन फैलिएको थियो । के पुगेको थिएन र चीन गरिब रहयो ? नेपाल कहिल्यै उपनिवेश भएन तरपनि गरिब भने रह्यो । किनभने विज्ञान र प्रविधि एसियाविरुद्ध प्रयोग गरियो” भन्दै प्रधानमन्त्री ओलीले भन्नु भएको छ, ‘एसिया, त्यसमा पनि नेपाल ज्ञान, तपस्या र आविष्कारको भूमि हो । न्यूटनले गुरुत्वाकर्षण पत्ता लगाउनुअघि भाष्कराचार्यले ग्राभिटी पत्ता लगाए । गायत्री मंत्र व्यासले कोसी किनारमै बसेर लेखेका हुन् ।”
“के बैशाखमा हुने चुनावपछि पनि तपाइँ प्रधानमन्त्री रहिरहनुहुन्छ ?” भन्ने प्रश्नमा प्रधानन्त्री ओलीले भन्नु भएको छ “चुनावमा केही कमजोर भएपनि ठूलो दल हाम्रै हुन्छ । चुनावपछि पनि सरकारको नेतृत्व हामीले नै गर्नुपर्ने अवस्था हुन्छ ।”
प्रधानमन्त्री ओलीको अभिव्यक्तिले उहाँका आलोचकहरुलाई समेत प्रभावित तुल्याएको पाइएको छ । सामाजिक सञ्जालमार्फत फरक विचार राख्ने कैयन वुद्धिजीवीले ओलीले नीर्भिक भएर सही समयमा सत्य, तार्किक, वौद्धिक एवं राष्ट्रियतालाई मजवुट पार्ने अभिव्यक्ति दिएको विश्लेषण गरेका छन् ।
नेपालमा राजनीतिक तरलता देखिएका बेला नेपाल र भारतमा मात्र होइन, संसारमा छरिएर बसेका दुई देशका करोडौं जनताका लागि समेत प्रधानमन्त्री ओलीले सुखद सन्देश दिएको विश्लेषकहरुको तर्कछ ।
केही वुद्धिजीवीहरुले आफ्नो सत्ता जोगाउन ओलीले राष्ट्रवादको कार्ड प्रयोग गरिरहेका छन् भन्ने आरोप लागिरहेका बेला उहाँको अभिव्यक्तिले राष्ट्रिय हितलाई मुखरित गरेको समेत स्वीकार्नु पर्ने अवस्था आएको टिप्पणी गरेका छन् । सत्तारुढ दल र विपक्षीहरुमा समेत प्रवल व्यक्तित्व नदेखिएका बेला ओलीको अभिव्यक्तिले राष्ट्रियताको चिन्ता गर्ने धेरैलाई आशाको किरण देखाएको पाइन्छ ।