काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई/चार जना नेताले पार्टी छोड्दैमा आफ्नो उद्देश्य कमजोर नहुने बताउनु भएको छ । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने आफ्नो उद्देश्य पूरा गरेरै छाड्ने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले मुलुकको गणतन्त्र, लोकतन्त्रका लागि आफू ५० वर्ष संघर्ष गरेकाले त्यसमा कुनै खतरा आउन नदिने पनि प्रष्ट पार्नुभएको छ ।
सरकारको कदम असंवैधानिक हो भन्नेहरुलाई संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा काम गर्न नदिएका कारण नयाँ जनादेशमा जाने निर्णय गरिएको बताउनु भयो ।
अन्तर्राष्ट्रिय प्रचलन, संविधान र जुन हिसावले पनि प्रतिनिधिसभा पुननस्र्थापना हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अव चुनावबाटै नयाँ प्रतिनिधिसभा गठन हुने बताउनु भयो । चुनाव तोकिएकै मिति वैशाख १७ र २७ गते हुने विश्वास दिलाउनु हुँदै उहाँले सवैलाई निर्वाचन अभियानमा लाग्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीेले ठूलाठूला कुरा गरेर हिडेका प्रचण्ड नेपाल पक्षको नेकपालाई १० सिट जितेर देखाउन चुनौती पनि दिनु भएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गएर गाली गर्ने, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भन्दै गालीगलौज गरेर हिँडेको बताउनु भयो । आफूहरुलाई गाली गर्ने फुर्सद नभएको बताउँदै उहाँले आफ्नो पार्टी विकासका समस्या निराकरण गर्नमा केन्द्र्रित भएको बताउनु भयो । उहाँले आफूहरुको सपना नै देश विकास गर्नु र भ्रष्टाचार अन्त्य गर्नु रहेको बताउनु भयो ।
आफू २०२२ सालदेखि राजनीतिमा लागेको र माधवकुमार नेपाल २०३२ सालमा लाग्नेको बताउँदै अध्यक्ष ओलीले पार्टी महाधिवेशनमा आफूसँग अध्यक्ष पदमा पराजित भएका नेता नेपाललाई अध्यक्षको मोह पलाएकै कारण पार्टी फुटको स्थितिमा पुगेको बताउनु भयो ।
‘नेकपा छोरीबुहारीवाला पार्टी होइन, देश बनाउने र जनताको पार्टी हो ।’ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आफन्त नभएका कोही पनि हुँदैनन्, तर टपक्क टिप्दै राख्नु ठीक होइन, मैले त्यसो गरेको छैन । कसकसका आफन्त कहाँ कहाँ छन, सबै थाहा छ ।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘पचास वर्षअघि नयाँ एकताको अभियान थालनी गरेर आएको व्यक्ति हुँ, काम लाग्छ कि भनेर पार्टीमा प्रचण्डलाई पनि ल्याएर आएको थिएँ । अँध्यारोमा उड्ने, हिड्ने बानी लागेकाहरु घाम लागेपछि टिक्न सक्दैनन् ।’
भारतले हडपेको जमिन नेपालको नक्सामा सामेल गर्दा केही नेताहरूलाई टाउको दुखेको बताउँदै भारतसँगको सम्वन्ध विगारेको आरोप आफूमाथि लागेको बताउनु भयो । भारतसँग नेपालको सम्बन्ध अझै पनि राम्रो रहेको बताउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा अधिकार सुरक्षित राख्दा सम्बन्ध बिग्रँदैन। लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो । ५८ वर्षदेखि भारतले हडपेको थियो। त्यसलाई सामेल गरी संविधान संशोधन गरेका छौं । संसद्मा एकमत थियो ।” उहाँले थप्नु भयो “नेपालको भूभाग सामेल गर्दा यही प्रदेशका मान्छेलाई टाउको दुख्यो । नक्कली राष्टवादीहरू। आज सुदूरपश्चिमले ४ मन्त्री पाएको छ । यसबेला उहाँ दुखी हुनुहुन्छ। वैज्ञानिक वन व्यव्थापनका नाममा सिद्ध्याउने उहाँको योजना अलपत्र पर्यो । त्यही भएर उहाँ दुखी हुनुहुन्छ।”
विकास विरोधीहरुलाई भोट नहाल्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले देशको पक्षमा, जनताको पक्षमा काम गर्नेलाई भोट दिएर जिताउन जनताहरुलाई आग्रह पनि गर्नु भएको छ । आफू नेतृत्वको सरकारले गरेको विकासको काम सबैले देखेको बताउँदै थप विकासको काममा आफू लागिपरेको बताउनुभएको छ ।
सदूरपश्चिमलाई अब पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गर्र्दै प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा, स्वास्थ्य, रोजगारी र बस्ती व्यवस्थापन जस्ता समस्या निराकरण गर्न आफूहरु लागेको बताउनु भयो ।
चाँदनी–दोधराको सिंचाईको काम भइरहेकाले त्यो चाँडै सम्पन्न हुने बताउनु हुँदै प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजना पनि अगाडि बढिसकेको बताउनु भयो । प्रधानमन्त्री ओलीले गेटाको मेडिकल कलेज विश्व विद्यालयको रुपमा विकास हुँदैछ, अत्तरिया–धनगढी बाटो चाँडै सम्पन्न हुन गइरहेको छ, विमानस्थलको क्षमताबृद्धि गर्ने काम अघि बढिरहेको, गौरीफन्टा नाका विस्तार गर्न भारतसँग कुरा भइरहेको बताउनुभयो ।
सेती लोकमार्ग, महाकाली करिडोरको काम अघि बढिरहेको वताउँदै उहाँले बैतडीमा पत्ता लागेको फस्फोरस खानी उत्खनन्मा सरकारले ध्यान दिएको बताउनु भयो । विभिन्न कारणले अवरुद्ध हुनपुगेको पश्चिम सेती जलविद्युत आयोजना अगाडि बढाउने, कञ्चनपुरको दैजीमा उद्योग स्थापना गर्ने तयारी भएको, महाकालीमा पुल निर्माणाधिन अवस्थामा रहेको, दार्चुला, वैतडी, डडेल्धुरामा झोलुङ्गे पुल निर्माण भइरहेको बताउँदै उहाँले सुदूरपश्चिमका बाटाघाटा, एयरपोर्ट विकास र अन्य विकासको काम शुरुभइरहेको बताउनुभयो ।