नेकपा नेता तथा उर्जा मत्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डको काम सरकार ढाल्ने र पार्टी फुटाउने मात्र भएको बताएका छन् । अर्घाखाँचीमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता रायमाझीले अहिले पनि प्रचण्डकै कारण पार्टी फुटेको र सरकार ढाल्ने चलखेल भएको बताएका छन् ।
अहिलेसम्म ८ वटा सरकार ढाल्न मुख्य भूमिका प्रचण्डले खेलेको बताउँदै नेता रायमाझीले पार्टी एकताका लागि प्रधानमन्त्री ओली लचक भएर एक पद छाड्न तयार भए पनि दुवै पद छाड्नै पर्ने अडान प्रचण्ड समूहले राखेका कारण समस्या भएको बताएका छन्।
नेता रायमाझीले पार्टी एकताको क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो अध्यक्ष भएको र संसदीय दलको नेतामा पनि पहिलो अध्यक्ष सर्वसम्मत रुपमा चयन भएको बताउँदै सहमति विपरीत प्रचण्ड– नेपालहरुले अविश्वासको प्रस्तावको तयारी गरेपछि संसद विघटन गर्नु परेको दावी गरेका छन् ।
ऊर्जामन्त्री समेत रहेका नेता रायामझीले नेपालमा लोडसेडिङ नभएर ओभरलोड भएको स्पट गरेका छन् । नेपालमा लोडसेडिङ फेरी सुरु भयो भन्ने कुरा गलत भएको बताउँदै मन्त्री रायमाझीले गत वर्षभन्दा यस वर्ष विद्युत क्षमता बढी भएकाले लोडसेडिङ नभइ ओभरलोड भएको बताएका छन् ।