काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनित सदस्यलाई कार्यगत प्रशिक्षण दिन प्रत्येक प्रदेशमा नेताहरु खटाउनु भएको छ ।
एउटा प्रदेशमा ४ जनासम्म नेतालाई प्रशिक्षणका लागि खटाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ । प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणि तथा र डा. शिवमाया तुम्बाहाङ्फेलाई खटाइएको छ भने प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो छन् ।
त्यस्तै बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पदमा अर्याललाई खटाइएको छ भने गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेललाई प्रशिक्षणका लागि खटाइएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि थापा र गोमा देवकोटा प्रशिक्षणमा खटिने भएका छन् ।
उता कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षा दिने भएका छन् भने सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई केन्द्रीय सदस्यरुलाई प्रशिक्षण दिनका लागि खटाइएको छ ।
नेकपाको मंगलबार बसेको बैठकले ४४६ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११९९ सदस्यीय बनाउने निर्णय गरेको थियो । नयाँ थपिएका केन्द्रीय कमिटी सदस्यलाई प्रदेशस्तरमै प्रशिक्षणका लागि नेताहरु खटाइएको बताइएको छ ।
उनीहरुले कार्यकर्ताहरुलाई पनि प्रशिक्षण दिने भएका छन् । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो ।
केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिन खटिएका नेताहरुले नै कार्यकर्ताहरुलाई पनि प्रशिक्षण दिने भएका छन् ।