काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ जिल्लामा कम्युनिष्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुहुने नेता माणिकलाल गौतमको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
स्वर्गीय गौतमप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले शोकाकुल परिवार तथा आफन्तमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बुधबार शोक विज्ञप्ति जारी गर्नुहुँदै स्व.गौतमले दाङ क्षेत्रमा कम्युनिष्ट पार्टी स्थापना र लामो समयसम्म स्वतन्त्र, समाजिक न्याय, समानता र प्रगतिशील आन्दोलनमा निरन्तर पुर्याउनुभएको योगदानको स्मरण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विज्ञप्तिमा भन्नुभएको छ, “न्याय, स्वतन्त्रता र सामाजिक परिवर्तनको आन्दोलनमा माणिकलाल गौतमले स्थापति गर्नुभएको निष्ठा र समर्पणप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।”