महोत्तरी । बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ६ वर्षकी बालिकाको हत्या गरेको घटनालाई लिएर मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएपछि स्थिति थप तनावग्रस्त भएको छ । स्थितिलाई नियन्त्रणमा लिन महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिएका छन् ।
निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाइने छैन । पूर्व–पश्चिम राजमार्ग भने सुचारू रहने बताइएको छ ।
बर्दिबास–१४ का शहील आलमकी ६ वर्षीया छोरी गुलाबको हत्या भएको थियो । आइतबार साँझदेखि हराएकी उनको शव हत्या गरेर बोरामा पोका पारेर फालेको अवस्थामा सोमबार राति भेटिएको थियो । हत्या आरोपमा अरुणकुमार साह पक्राउ परेका छन् ।