मुगु । मुगुको पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या बढ्न थालेको छ ।
कोरोना सङ्क्रमण जोखिम र लकडाउनका कारण सुनसान बनेको रारा तालमा लकडाउन हटेसँगै चहलपहल सुरु भएको हो । अहिले बिदाको मौका पारेर घुम्न आउनेहरु बढेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । झण्डै ७ महिना सुनसान बनेको रारा तालमा अहिले दैनिक १ सय ५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाइमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिनुभयो ।
अहिले रारा आसपासका होटेल र गाउँ पनि पर्यटकले भरिन थालेका उहाँले बताउनुभयो । निकुञ्जका अनुसार यसवर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । रारामा घुम्न जाने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।
रारामा जानेको सङ्ख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका होटेल व्यवसायी भक्तबहादुर बुढाले बताउनुभयो । – रासस