काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी वर्गीकरणलाई संशोधन गरेको छ । असोजको पहिलो साता क्यानको चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय खेलाडीमा पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो ।
तर ग्रेडिङमा तलमाथि भएको र केही प्रमुख खेलाडी छुटेपछि त्यसको चर्को आलोचना भएको थियो ।
क्यानको शनिबार अनलाईनमा बसेको बोर्ड बैठकले विगतमा गरेको केही निर्णयलाई सच्च्याउने निर्णय गरेको हो । अलराउन्डर सोमपाल कामीलाई ग्रेड ‘बी’ बाट ग्रेड ‘ए’मा लगिएको छ । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, शरद भेषावकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी गरी ८ खेलाडी ग्रेड ‘ए’मा रहेकोमा सोमपाल थपिएको हो ।
देव्रेहाते स्पिनर ललितलाई नराखिएकोमा क्यानले सबैभन्दा बढी आलोचना खेप्नु परेको थियो । ललितलाई अब ग्रेड ‘बी’मा राखिएको छ भने अविनाश बोहरालाई ग्रेड ‘सी’ बाट ग्रेड ‘बी’मा बढुवा गरिएको छ । यसअघिको वर्गीकरणमा ग्रेड ‘बी’मा सुसन भारी, सोमपाल, आरिफ शेख र पवन सर्राफ तथा ग्रेड ‘सी’मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रशिद खान, अविनाश र कमलसिंह ऐरी रहेका थिए । क्यानले सन्दीप जोरालाई ग्रेड ‘सी’मा थपेको छ ।
पुरुषतर्फ ग्रेड ‘ए’, ग्रेड ‘बी’ र ग्रेड ‘सी’का खेलाडी क्रमश: ५०, ४० र ३० हजार नगद पाउने छन् । पुरुषतर्फ वर्गीकरणमा १८ बाट २० खेलाडी पुर्याइएको छ भने महिलातर्फ १९ बाट २२ पुर्याइएको छ । महिलातर्फ सरस्वती चौधरीलाई ग्रेड ‘बी’मा तथा ममता चौधरी र सुमन खतिवडालाई ग्रेड ‘सी’मा थपिएको छ । ग्रेड ‘ए’मा परेकाले १५, ग्रेड ‘बी’मा परेकाले १२ र ग्रेड ‘सी’मा परेकाले १० हजार मासिक तलब पाउने क्यानले यसअघि बताएको थियो । कोभिड १९ (कोरोना) का कारण हाललाई २०२० को जनवरीदेखि लागू हुने गरी ६ महिनाका लागि खेलाडी सम्झौता गरिएको क्यानले जनाएको छ ।
प्रशिक्षण मंसिर १० देखि
क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी मंसिर १० गते सञ्चालन गर्ने भएको छ । फेब्रुअरी–मार्चमा थाइल्यान्डमा भएको एसीसी ट्वान्टी २० देखि कोरोनाका कारण नेपालले कुनै प्रतियोगिता खेलेको छैन भने राष्ट्रिय प्रतियोगिता पनि हुन सकेको छैन । क्यानले डिसेम्बरको अन्त्यमा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता सन्चालन गर्न त्यसको अनुमति लिने प्रक्रिया तत्काल अगाडि बढाइने निर्णय गरेको छ ।
क्यानले मंसिर ३ गते भर्चुअल साधारणसभा गर्ने जनाएको छ । यसअघि असोजको अन्तिम साता गर्ने भनिएको क्यानको साधरणसभा चितवन बैठकबाट फर्किने क्रममा अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुर्याललाई कोरोना संक्रमण देखिएपछि स्थगित गरिएको थियो ।
भारतीय दूतावासको सहयोगमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पेभेलियन हलको स्तरोन्नती गरिने भएको क्यानले जनाएको छ । त्यस्तै मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नती प्रक्रिया अगाडि बढाउने निर्णय पनि क्यानले गरेको छ । क्यानले राष्ट्रिय टोलीका लागि फिटनेस ट्रेनर लिने पनि भएको छ ।
क्यानले आफ्ना सदस्य दुर्गाराज पाठकको संयोजकत्वमा नेसनल क्रिकेट एकेडेमी सन्चालन कार्यविधि निर्माण गर्ने तथा प्रशान्तविक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम, दुर्गाराज पाठक, कैलाश विष्ट र छुम्बी लामा सदस्य रहने गरी दुई साताभित्र तीन वर्षे रणनितिक योजना निर्माण गर्ने निर्णय क्यानले गरेको कान्तिपुर दैनिकमा खबर छ ।