बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
प्रदेशको राजधानी दाङलाई बनाउने गरी प्रदेशसभामा प्रस्ताव लगेपछि बुटवलमा नै राख्नुपर्ने पक्षधरहरु आक्रोशित बनेका हुन् ।
कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो। सत्तारुढ नेकपा र कांग्रेसवीच सहमति नजुटेपछि काँग्रेसले प्रदेशसभा बैठकमा नाराबाजी गर्दै अवरुद्ध पारेको हो ।
काग्रेससँगै फोरम सासदहरुले पनि नाराबाजी गरेका छन् । प्रदेश राजधानी जहाँ भएपनि त्यसको औचित्य पुष्टि गर्नुपर्ने कांग्रेसको तर्क छ ।
प्रदेश ५ मा कूल ८७ सदस्यमध्ये नेकपाका मात्रै ६१ सांसद छन । सरकारको प्रस्ताव पारित हुन ५८ मत चाहिन्छ । नेकपाकै सांसदहरुले सरकारको प्रस्तावको पक्षमा मतदान गरे सरकारको प्रस्ताव सजिलै पारित हुने संभावना छ । यता बुटवलमै राजधानी हुनुपर्दछ भन्ने लबिङ गरिरहेका र सरकारको प्रस्तावमा लिखित असहमति जनाएका नेकपाका १४ सांसदले संसदीय दलको ह्विप अनुसार मतदान गरे भने सरकारको प्रस्ताव पारित गर्न सजिलो हुनेछ । प्रदेश सभामा कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।