सोलुखुम्बु । कीर्तिमान कायम राख्न सफल सगरमाथा आरोही आङरिता शेर्पाको निधन भएको छ । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेका शेर्पाको आज बिहान आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले बताएका छन् ।
सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका शेर्पाले पछिलो पटक सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका थिए । शेर्पाको त्यो अन्तिम आरोहण भयो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।
आङरिताको आरोहण यात्रा
पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका शेर्पाले पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका थिए । विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बसेका बेला शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उनी आरोहणमा नगएको परिवारक स्रोतको भनाइ छ ।
त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले बताउने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।
उनको दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताएकी छिन् ।
उनलाई नेपाल पर्वतारोहण सङ्घले नियमित रुपमा आर्थिक सहयोग गर्दै आएको थियो । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै छन् । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा छन् र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्छन । छोरी डोमा जोरपाटीमा छिन् । आङरिता उनै छोरीसँग बस्दै आएका थिए । उनकी पत्नीको सात वर्षअघि निधन भएको थियो ।
























