गुल्मी । गुल्मीमा अपरिचित व्यक्तिको कुटाइबाट आज एक जनाको ज्यान गएको छ । पिटाइबाट इस्मा गाउँपालिका –२ हस्तिचौर निवासी २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिएका छन् ।
हस्तिचौरको छिन्नाखोलामा होटल व्यवसाय सञ्चालन गर्दै आएका कुँवर बिहान घाइते अवस्थामा फेला परेका छन् । छिन्नाखोलामा कुँवर दाजुभाइ मिलेर होटल व्यवसाय सञ्चालन गरेका थिए । आइतबार बेलुकी दाजु यमबहादुरले भाइलाई होटलमै छाडेर घर गएको र घरबाट होटलमा आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताएका छन् ।
घाइते कुँवरको गुल्मी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । अस्पताल ल्याउँदा मृत्यु भइसकेकाले आफूहरुले मृत्यु घोषणा मात्रै गरेको अस्पतालका डा. उत्तम पच्याले बताएका छन् । घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक पन्तको नेतृत्वमा प्रहरी टोली घटनास्थल पगेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिएका छन् ।
अर्घाखाँचीमा कैदीको मृत्यु
जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रूपन्देही, तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिएका छन् ।
मृतक पाण्डेलाई मुटुको समस्या थियो । शनिबार साँझ उहाँको शरीर एक्कासि सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले स्वास्थ्यवस्था जटिल रहेको बताएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको थियो । पाण्डेको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।