वीरगञ्ज । पर्साको वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो भने पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनट जाँदा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
उनीहरुको उपचारमा संलग्न डा. दीपक कुशवाहका अनुसार मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका डकैला बहुअरीका ६१ वर्षीय पुरुषमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगञ्जको अलि अर्थो ट्रमा सेन्टरमा भर्ना गरी उपचार सुरु गरिएको थियो । भदौ ३ गते सङ्कलन गरिएको स्वाबको आरटी पीसीआर परीक्षण गर्दा भदौ ४ गते ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट बिहीबार राति नै वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल भर्ना गरी उपचार सुरु गरिएको थियो ।
त्यस्तै, शुक्रबार राति ८ बजे मृत्यु भएका अर्का सङ्क्रमित ५८ वर्षीय पुरुष मृगौला र मधुमेहका रोगी थिए भने भेन्टिलेटरमा राखेर उपचार गर्ने कार्य भइरहेको थियो ।
वीरगञ्जमा कोरोना सङ्क्रममणका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।
त्यस्तै सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका वडा नं. ४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन् ।
ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।