काठमाडौँ । पत्रकार बलराम बानियाँको दुःखद निधन भएको छ । दुई दिनदेखि परिवार र कार्यालयबाट सम्पर्कविहीन भएका बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
सोमबार ढुंगेअड्डा तीनथानबाट हराएपछि परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका छन् । बल्खुमा उनको जुत्ता फेला परेको थियो ।
कान्तिपुर दैनिकका सहायक–सम्पादक वानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएको बताइएको छ । सोमबार करिब पौने चार बजे बल्खुमा प्रहरीको गस्ती टोलीले देखेपछि उनलाई सोधपुछ गर्दा घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बानियाँ पुलमुनि जाँदै जुत्ता हिलोमा अड्किएर खोलाको पानीमा लडे र स्थानीयले उद्धार गर्ने प्रयास गरेपनि अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएको प्रहरीले जनाएको छ । त्यसबेला उनको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।
तनहुँ घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।




















