वीरगञ्ज । कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको बताइएको छ ।
पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । उनीहरुमध्ये १२ जना पर्साकै रहेको बताइएको छ ।
४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए । साउन १८ गते पीसीआर गराएका उनको १९ गते राति रिपोर्ट पोजेटिभ आएको थियो ।
अक्सिजन दिँदासमेत उनको शरीरमा अक्सिजन मेन्टेन भईरहेको थिएन । मुटुले काम गर्न छोडेपछि बिहान उनको निधन भयो ।
त्यस्तै साउन १९ गते सोमबार मृत्यु भएको युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वान्ता आउनुका साथै झडापखाला लागेकी पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ ।