वीरगंज । स्थानीय र प्रदेश सरकारबाट उपभोक्ता समिति अन्तर्गत विभिन्न विकास योजनाका काम लिएका उपभोक्ता समितिले ठेकेदारमार्फत् कमिशनमा काम गराइरहेका पाइएको छ ।
उपभोक्ता समिति बनाएर विकास निर्माणका काम गर्न स्थानीय तथा प्रदेश सरकारबाट विनियोजित रकम लिएका समितिहरूले ठेकेदारलाई कमिशनमा योजना बिक्री गर्ने गरेको पाइएको छ । ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिकाहरूमा उपभोक्ता समिति बनाएर स्थानीय र प्रदेश सरकारबाट काम लिएकाहरूले ठेकेदारलाई १० देखि २० प्रतिशत कमिशनमा ठेक्का दिने गरेको स्रोतले जनाएको छ । अहिले यो क्षेत्रमा उपभोक्ता समितिमार्फत् भइरहेका अधिकांश निर्माण कार्य ठेकेदारले गरिरहेको बताइएको छ ।
ठेकेदारसँग कमिशन लिएर उपभोक्ता समितिहरूले कामको जिम्मेवारी सुम्पिने गरिएको छ । उपभोक्ता समिति आफैंले गर्ने काम राम्रो हुने गरेको स्थानीयहरू बताउँछन् । तर अहिले समितिहरू आफैंले काम नगरी कमिशन लिएर ठेकेदारलाई दिंदा कमसल निर्माण कार्य भइरहेको जीराभवानी गापाका सञ्जय चौधरीले बताए ।
निर्मलबस्तीका पूर्व गाविस अध्यक्ष लालबहादुर श्रेष्ठले उपभोक्ता समिति बनाएर काम लिएकाहरूको साइटमा अहिले अनुगमन गर्दा ठेकेदारले काम गरिरहेको पाइएको बताए । आर्थिक वर्षको समाप्तिमा उपभाोक्ता समितिले लिएको काम ठेक्कामार्फत् गराउने प्रचलन झनै बढेको छ । अहिले यी क्षेत्रमा हुने गरेका कामहरूको अनुगमन गर्ने हो भने यस्ता थुप्रै प्रमाण फेला पर्ने पूर्व गाविस अध्यक्ष श्रेष्ठले बताए ।