रौतहट । प्रदेश २ को पर्सादेखि सप्तरीसम्म आठ जिल्लाकै स्वास्थ्यकर्मीहरूले सङ्क्रमण परीक्षणमा अति विलम्ब भएकोले चुनौती थपिंदै गएको बताएका छन् ।
दैनिकरूपमा नमूना सङ्कलन गरिए पनि परीक्षणको नतीजा न्यून आउने भएकोले समस्या भइरहेको उनीहरूको भनाइ छ । स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले भने, क्वारेन्टाइनमा थुनेर राखेको ३ महीना पुग्न लाग्यो, समयमा रिपोर्ट नै आउँदैन, के गरौं हामी ।
उनले रौतहटका १८ वटा पालिकाको ७५ वटा क्वारेन्टाइनमा ७ हजार ७ सय ३० जनालाई जसोतसो निगरानीमा राखिएको बताए । तर सबै शङ्कास्पद नागरिकमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिप्रति आक्रोश बढ्दै गएको पाइएको छ । रौतहटका मात्रै ६ हजार ८ सय ५२ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रदेश २ को स्वाब वीरगंजको नारायणी अस्पताल, हेटौंडा ल्याब, टेकु काठमाडौं ल्याब, जनकपुर ल्याब र राजविराज ल्याबमा परीक्षण भइरहेको छ । प्रदेशका आठ जिल्लाको तथ्याङ्क हेर्ने हो भने १४ हजार ८ सय ३० जनाको रिपोर्ट आउन बाँकी देखिन्छ । जबकि आठ जिल्लाबाट हालसम्म ३१ हजार ३ सय १ जनाको स्वाब सङ्कलन भइसकेको छ । यसमध्ये पर्सामा ५२९, बारामा १ हजार ४०, रौतहटमा ६ हजार ८ सय ५२, सर्लाहीमा २६ सय ५३, महोत्तरीमा १५ सय ३९, धुनषामा १ हजार ३२, सिरहामा ६ सय २० र सप्तरीमा २ सय ९३ जनाको रिपोर्ट आउन बाँकी रहेको देखिन्छ । प्रदेश २ का आठ जिल्लाको ४२८ वटा क्वारेन्टाइनमा हालसम्म पर्सामा ६६३, बारामा ४६३, रौतहटमा ७७३०, सर्लाहीमा १७७५, महोत्तरीमा २६९२, धनुषामा १४८४, सिरहामा १२०५ र सप्तरीमा १९४९ गरी कुल १७ हजार ९ सय ८१ जना क्वारेन्टाइनमा बसेका छन् ।