सर्लाही । पर्सा ३ मा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।
शुक्रबार बिहान नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको स्रोतको दावी छ । त्यस क्रममा पाँच जना भारतीयलाई गोली लागेको बताइएको छ।
गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसको पुष्टि गर्न बाँकी छ। मृतकको नाम, ठेगाना खुलेको छैन।
पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बाहादुर जिसीले बताएका छन् ।
सिडिओ जिसीका अनुसार सुरुमा ४०÷४५ जना भारतीय जवरजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो ।
‘नेपाल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको बताइएको छ । सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेका थिए । फेरि पछि ६०/६५ जनाको हुलामा आएर प्रहरीमाथि ढुंगामुढा साथै हतियार खोस्ने प्रयार गरेपछि प्रहरीले हवाई फायर गरेर उनीहरुलाई भगाएको थियो ।
झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए। हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
सशस्त्रले गोली चलाएपछि उनीहरु भारततिरै भागेको बताइएको छ । उनीहरु किन नेपाल प्रवेश गर्न खोजेका हुन भन्ने खुलेको छैन ।
उनीहरु नेपाल–भारतमा अवैध रुपमा सामान ओसारपसार गर्ने तस्कर समूह भएको हुन सक्ने स्थानीयले बताएका छन् ।