वीरगंज । कोरोना सङ्कट व्यवस्थापन केन्द्र, पर्साले जेठ २६ गते सोमवारदेखि वीरगंजमा खुलेका पसलहरू बन्द गराउने निर्णय सच्याएको छ ।
जेठ २५ गते कोरोना सङ्कट व्यवस्थापन केन्द्र, पर्साका सदस्य सचिव ललितकुमार बस्नेतले जेठ २१ गते भएको बैठकले जेठ २३ गतेदेखि दिन बिराएर पसलहरू सञ्चालन गर्न गरेको निर्णयको बुँदा नं. २ को ५ र ६ मा गरिएको व्यवस्था जेठ २६ गतेदेखि खारेज गरिएको जनाएका थिए । बुँदा नं. २ को ५ र ६ मा जोर र बिजोर दिन खुल्ने पसलहरूको नामावली समावेश थियो । अत्यावश्यक वस्तु दूध, औषधि, ग्यास, पानी, खाद्यान्न, तरकारी, फलफूलबाहेक अन्य पसलहरू जोर–बिजोर दिन खोल्ने निर्णय जेठ २५ गते खारेज भएको थियो । तर २६ गते बिहान सरोकारवालाहरूले कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा तोकिएको मापदण्डभित्र रहेर पसल सञ्चालन गर्न दिनुपर्ने माग गरेपछि प्रशासनले निर्णय सच्याएको हो ।
प्रशासनले पूर्ववत् निर्णयमा गरेका सबै मापदण्ड पूरा गरेर बन्द गर्ने भनिएका पसलहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्ँ गोपाल केडियाले बताए । सङ्घको तर्फबाट महासचिव माधव राजपालले विज्ञप्ति प्रकाशित गरी पसलहरू सञ्चालन गर्न आग्रह गरेका थिए । उनले विज्ञप्तिमा प्रहरी प्रशासनले यसअघि दिएको निर्देशन पालना गर्दै पसल सञ्चालन गर्न अनुरोध गरेका थिए । महासचिव राजपालले कोरोना सङ्क्रमण फैलिन नदिन सबै मापदण्डलाई कडाइका साथ अवलम्बन गरेर जोर–बिजोर दिनमा पसल सञ्चालन गर्न आग्रह गरे ।
वीउवासङ्घले जोर–बिजोर दिन पसल सञ्चालन गर्नको लागि व्यवस्थित वीरगंज अभियानसँग सहकार्य गरेको छ । व्यवस्थित वीरगंज अभियानमा लागेकाहरूलाई सङ्घमा भेला गराइ पसलेहरूलाई नियम पालना गर्न लगाउन सुझाएका थिए । सङ्घका अध्यक्ष्ँ केडियाले अभियानका स्वयंसेवक र एकजना प्रहरीसहित विभिन्न चोकमा रहेका पसलेहरूलाई सङ्क्रमणबाट जोगिने गरी सचेतना गराउने र सोहीअनुरूप पसल सञ्चालन गराउने अभियान शुरू भएको बताए ।
पोखरिया
कोरोना सङ्कट व्यवस्थापन केन्द्र, पर्साले पसलहरू सञ्चालनमा जोर–बिजोर नियम लगाए पनि वीरगंजबाहेक ग्रामीण क्ष्ँेत्रका पसलहरूले जोर–बिजोर दिनको नियम पालना गरेका छैनन् ।
केन्द्रले जोर दिन कस्मेटिक, रेडिमेड, कपडा, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र बिजोर दिन हार्डवेयर, साइकल, मोटरसाइकल, अटोमोबाइल, भाँडाकँुडा, सुनचाँदी, फर्निचरलगायतका पसलहरू सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर पर्सा जिल्लाको पर्सागढी नगरपालिका, बहुदरमाई नपा, पोखरिया नपा र दशवटा गाउँपालिकाहरूका बजारमा सो नियमको पालना भएको छैन ।
पोखरिया, बडनिहार, बहुअर्वाभाठा, भिस्वा, पकाहामैनपुर, लङ्गडी, विन्दवासिनी, जानकीटोला, सुवर्णपुरलगायतका बजारहरूमा सबै दिन सबैखाले पसल सञ्चालनमा छन् । स्थानीय प्रहरीले जोर–बिजोर दिन नियम पालना गराउन कुनै करकाप गरेको छैन । जसले गर्दा पसलहरू निर्बाधरूपमा सञ्चालनमा छन् ।