वीरगंज । लकडाउनमा नदीजन्य पदार्थको उत्खनन तीव्र गतिमा भइरहेको छ । पर्सा जिल्लामा ६ वटा नदी छन्, जसमा तीनवटा नदीमा उत्खनन गर्न ठेक्का लगाइएको छ भने तीनवटा नदीमा उत्खनन गर्न एक वर्ष बितिसक्दा पनि ठेक्का लाग्न सकेको छैन ।
ठेक्कामा सञ्चालित पर्सागढी नगरपालिकाको कर्जनिया खोला, वीरगंज महानगरको भेडाहा खोला र पटेर्वासुगौली गाउँपालिकाको गादी खोला हुन् । यसैगरी, पटेर्वासुगौली र जीराभवानी गापामा पर्ने भलुवाही, सखुवाप्रसौनी गापाको जमुनिया र जीराभवानी गापामा रहेको ओरिया खोलाको ठेक्का हुन सकेको छैन । वातावरणीय परीक्षण रिपोर्टमा ढिलाइ भएको र प्रदेश सरकारले रोक लगाएको कारण यस वर्ष ती खोलाहरूको ठेक्का हुन नसकेको हो ।
ठेक्का नभएका खोलाहरूबाट अवैध उत्खनन भइरहेको छ भने ठेक्का भएका खोलाहरूबाट पनि नियम, सम्झौताविपरीत उत्खनन भइरहेको छ । ठेक्का सम्झौतामा खोलाको दुवै किनारको दश÷दश मिटरभित्रबाट नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने र सो उत्खननमा प्रयोग हुने यन्त्रबाट तीन फिटभन्दा बढी गहिराइ गरी उत्खनन गर्न नपाउने प्रावधानविपरीत अहिले उत्खनन भइरहेको पाइएको छ ।
ठेक्का भएका खोलाहरूमा एक्साभेटरको प्रयोग गरी तीन फिटभन्दा बढी गहिरो गरी उत्खनन भइरहेको स्थानीयहरूले गुनासो गरेका छन् ।
यसैगरी, ठेक्का नभएका भलुवाही, जमुनिया र ओरिया नदीमा अवैध उत्खनन जारी छ । लकडाउनको अवसरमा प्रहरी र वन कर्मचारीलाई अवैध नदी उत्खनन कमाइखाने भाँडो बनेको छ । प्रतिट्याक्टर रु सयदेखि दुई सयसम्म लिएर प्रहरी, वन कर्मचारीले अवैध उत्खननलाई बढावा दिएका छन् । यही कारण हो ठेक्का नभएका खोलाहरूमा सयौंका सङ्ख्यामा ट्याक्टरहरू प्रवेश गर्ने र बालुवा, गिट्टी, ढुङ्गाको ढुवानी गर्दै आएका छन् । खोला रहेका यी क्षेत्रमा दैनिक सयौंको सङ्ख्यामा ट्याक्टरको आवतजावत सहजै देख्न सकिन्छ ।
लकडाउन अढाई महीना लम्बिएको र जेठ मसान्तसम्म मात्र नदीजन्य पदार्थको उत्खनन गर्न पाउने प्रावधान भएकोले पनि अहिले अवैध उत्खनन बढेको छ । असारदेखि असोज १ गतेसम्मका लागि सबै खोलामा उत्खनन बन्द गरिन्छ । सो अवधिबाहेक वातावरणीय परीक्ष्ँण रिपोर्ट तयार भएर स्थानीय तहले ठेक्का लगाएका खोलाहरूबाट मात्र उत्खनन गरिन्छ। अहिले ठेक्का नलागेका खोलाहरूबाट सम्बन्धित स्थानीय तहले विकास निर्माणको लागि नदी उत्खननको लागि अघोषित इजाजत दिएको छ ।
स्थानीय तह अन्तर्गत निर्माण हुने ढलान, सडक, नाला, घर निर्माण आदिका लागि नदीजन्य पदार्थको उत्खनन गर्न दिइएको बताइएको छ ।