वीरगंज । यसपटक वर्षा समयमै भएपनि किसानहरूले छरेको धानको बीउ तयारी नहुँदा रोपाइँ केही ढिला हुने भएको छ । किसानहरूले छरेको धानको बीउ कम्तीमा २५ दिनमा रोपाइँका लागि तयारी हुन्छ । बीउ छरेसँगै किसानहरूले धान रोपाइँ गर्नका लागि खेत तयारी पनि गरेका थिए । तर छरेको बीउ समयमा तयार नहुँदा पानी परेर खेत तयार भएपनि रोपनी हुन सकेको छैन ।
तीन दिनदेखि परेको पानीले धान रोपाइँ गर्न प्रशस्त अवसर थियो । तर बीउ तयारी नहुँदा किसानहरूले समयमा रोपनी गर्न सकेनन् । अरू बेला समयमा पानी नपरेर समस्या भोग्ने गरेका किसानहरूले यस वर्ष भने समयमा पानी पर्दा बीउ तयारी नहँुदा समस्या भोगेका हुन् । एकजना किसानले यसपटकको बीउ कमसल भएकोले तोकेको समयमा तयार नभएको बताए ।
अन्य बेला यस समयमा बीउ तयार हुन्थ्यो तर पानीको अभावमा रोपनी हुन सक्दैन थियो । तर यसपटक बीउ तयार हुन समय लाग्यो । पर्सामा लकडाउनको कारण किसानहरूले उन्नत जातको बीउ पाउन सकेका थिएनन् । बजारमा उन्नत जातको बीउ अभाव भएको र लकडाउनको कारण सीमापारि भारतीय बजारबाट पनि खरीद गरेर ल्याउने अवस्था नभएकोले किसानहरूले खानका लागि भकारीमा राखेको धानलाई बीउको रूपमा प्रयोग गरेका थिए । उन्नत जातको बीउ अभावमा समय लागेको किसानहरूको बुझाइ छ ।
जीराभवानी गाउँपालिका–२ सेढवाका किसान माथुर महतो थारूले खाने धानलाई बीउको रूपमा प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्थाका कारण समयमा बीउ तयारी नभएको बताए । पहिलोपटक ब्याडमा हालेको बीउ रोपाइँ गर्न योग्य भएपनि दोस्रोपटक हालेको बीउ भर्खर उम्रिन थालेकाले रोपाइँ गर्न नसकिएको उनले बताए ।
समयमा पानी परेकोले यस वर्ष भूमिगत सिंचाइ अन्तर्गत दमकलको प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए । समयमा पानी परेर सिंचाइको समस्या नरहेको किसान थारूले भने । यसअघिका वर्षमा समयमा पानी नपर्दा आकाशे पानीमा निर्भर किसानहरूले भूमिगत सिंचाइका लागि प्रतिबिघा चार हजारदेखि पाच हजार रुपैयाँसम्म खर्च गर्नुपर्दथ्यो ।