वीरगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रणको भन्सार कार्यालयले तीन महिनाअघि गुणस्तरहीन भनेर प्रमाणित गरेको ७२ हजार किलो चिनी केन्द्रीय प्रयोगशाला परीक्षणमा खान योग्य रहेको पाइएको छ । भन्सारको गुणस्तर कार्यालयले आयात अयोग्य भनेको चिनी भन्सार पास हुनु, लगत्तै राजस्व अनुसन्धानको टोलीले पक्राउ गर्नु र त्यसको तीन महिनापछि गुणस्तर फेरिनुले चिनीमा चलखेल भएको प्रष्ट हुने स्वदेशी चिनी उत्पादकहरु बताउँछन् ।
खाद्यको जलेश्वर ल्याब र काठमाडौं ल्याबको नतिजा फेरिनुमा नियन्त्रणमा लिइएको चिनीको नमूना संकलन र परीक्षणमा बदमासी गरिएको हुन सक्ने देखिन्छ, भन्सार, राजश्व अनुसन्धान र गुणस्तरका अधिकारी प्रलोभनमा परेको अनूमान लगाउन सकिन्छ ।
जलेश्वर भन्सार कार्यालयले उपभोग्य मिति सकिएको आयात अयोग्य तीन ट्रक भारतीय चिनीको भन्सार जा“चपास गरेको गरिदिएको थियो । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले अयोग्य प्रमाणित गरेको चीनी भन्सार कार्यालयले जाँच पास गरेको हो । नेपालमा आयात गरिने खाद्य बस्तुको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ । भारतको बहराईज जिल्ला उत्तर प्रदेशबाट काठमाडौंको अनुष्का मल्टिप्रपोज प्रालिले आयात गरेको चिनी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर नेपाल भित्रिन अयोग्य रहेको बताएको थियो ।
यो प्रावधानको बर्खिलाप गरी उपभोग्य मिति सकिएको र उपभोगका लागि अयोग्य भारतीय चिनी जलेश्वर भन्सार कार्यालयले भन्सार जा“चपास गरेर नेपाली उपभोक्ताको जीवन संग खेलवाड गरेको छ । सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाले पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो ।
फागुन २५ गतेको राति नियन्त्रणमा लिइएको चिनीबारे अनुसन्धान जारी रहेको राजश्व अनुसन्धान कार्यालय पथलैया बाराका प्रमुख राजन बीसीले बताए । अयोग्य भनेर प्रमाण पत्र दिइँदा दिइँदै चिनी भन्सार पास भएको लगायतका विषयमा कार्यालयले अनुसन्धान गरिरहेको उनले बताए । भन्सार छली, प्रक्रियानपुगी आयात तथा गुणस्तरको विषयमा कार्यालय एकिन भएपछि चिनी जफत, नष्ट गर्ने वा फुकुवा गरिदिने भन्ने प्रक्रियाअनुसार नै कार्यालयले गुणस्तर परीक्षण गराएको बीसीले बताए । ‘कार्यालयले जफत गरेर लिलामी गर्दा पनि चिनीको गुणस्तर हेरिनुपर्छ, त्यसैअनुरुप हामीले केन्द्रीय प्रयोगशाला पठाएका हौँ,’ बीसीले भने सरकारले तोकेको चिनीको न्यूनतम् मूल्यअनुसार उक्त परिमाणको चिनीको बजार मूल्य ५२ लाख हाराहारी हो । प्रयोगशाला परिक्षणपछि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले प्रयोगशालामा परिक्षण गरिएको पारामिटरको आधारमा प्राप्त नमूनाहरु आयातका लागि योग्य नरहेको देखिएको उल्लेख गरेर पठाएपनि जलेश्वर भन्सार कार्यालयले भने आयात अयोग्य चिनीको भन्सार जाँचपास गरी दिएको छ । आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले मिति २०७६ फागुन २५ गतेको पत्रसंख्या २०७६।०७७ को चलानी नम्बर ७४१ मा कार्यालयमा प्राप्त नमूनाहरुको उपभोग्य मिति समाप्त भईसकेको पाईएको उल्लेख गरेर जलेश्वर भन्सार कार्यालयलाई पठाएको हो ।
कार्यालयका निमित्त प्रमुख विपिन कुमार ठाकुरले खाद्य ऐन र नियामावलीले दिएको अधिकार अनुसार नै प्रयोगशालामा आएको नमूना परिक्षण गर्दा उपभोग्य मिति सकिएको पाईएकोले सोही अनुसार प्रमाणीकरण गरेर पठाईएको बताउनु भयो ।
खाद्य आयात निर्यात प्रमाणीकरण कार्यालयको नमूनाको संकेत नम्बर ७७ बाट लिईएको नमूना परिक्षणमा आयातका लागि अयोग्य पाईएको हो । उहाँले भन्नु भयो खाद्य ऐन अनुसार उक्त चिनी उपभोगमा ल्याउन अयोग्य पाईएकोले लेखी पठाएको हौं । खाद्य ऐनको उद्देश्य भनेकै हाम्रो देशलाई म्याद गुज्रिएको खाद्य वस्तुको डम्पिङ साईट हुनबाट बचाउने हो । ठूलो परिमाणमा आयात गरिएका खाद्यवस्तुहरु बजारमा पुग्न समय लाग्ने भएकोले उपभोग मिति कम्तिमा पनि ६० प्रतिशत बााकी हुनुपर्ने भनिएको ठाकुरको भनाई छ । तर अहिले आयात गरिएको चिनीको म्याद नै गुज्रिसकेको छ । नेपालमा आयात गरिएका वस्तुहरु अयोग्य हुने गरेको र नेपाललाई अखाद्य वस्तुको डम्पिङ साईट बनाउन खोजेको भन्दै आलोचना हुने गरेको छ । सिम्बोली सुगर लिमिटेड यूनिट उत्तर प्रदेश बहराज लेखिएको एउटा बोरामा लट नम्बर २०१९ लेखिएको थियो भने २४ महिनाभित्र प्रयोग गरिसक्नु पर्ने उल्लेख थियो । यस्तै अर्को बोरामा लट नम्बर र प्याक्ट मिति मार्करको सहायतामा हातले लेखिएको थियो ।
उपभोत्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले जलेश्वर भन्सार कार्यालयले नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेर जाँच पास गरेको विषय अत्यन्त गम्भीर रहेको बताउनु भयो । उहाँले आफ्नो कर्तब्यपथबाट च्यूत भएर नेपाली उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कर्मचारीलाई तत्काल कारवाही गर्न माग गर्नु भएको छ । मञ्चले आयातकर्ता, जाँचपासमा संलग्न कर्मचारीका विरुद्ध उपभोक्ता संरक्षण ऐन अन्तर्गत कानुनी लडाई लड्ने उहाँले जानकारी दिनु भयो । भन्सार कार्यालयहरुले भने राजस्व संकलन र व्यक्तिगत लाभको लागि यस्ता अयोग्य वस्तुहरुको जाँचपास गरिदिने गरेको घटनाहरु बेलाबेलामा आउने गरेका छन् ।