वीरगंज / सरकार लकडाउनको खाका परिवर्तन गर्ने तयारीमा रहेको बेला वीरगंजमा पनि यसबारे छलफल शुरू भएको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घले चैत ११ गतेदेखि निरन्तररूपमा जारी रहेको लकडाउनको कारण उद्योग–व्यवसाय धराशयी भएको भन्दै व्यापारीहरूको गुनासो आएपछि लकडाउन अवधिमा सामाजिक दूरी बनाएर सबैखाले पसलहरू सञ्चालन गर्ने विषयमा छलफल गर्न लागेको वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए ।
सरकारले खाद्यान्न, कृषि, उद्योगलगायत अत्यावश्यक चालीस प्रकारका सेवा सञ्चालन गर्दै आएकोमा ती सेवाबाहेकका व्यापारहरूलाई पनि सञ्चालनमा ल्याउन जरुरी भएको हुँदा सरोकारवालाहरूलाई राखेर परामर्श लिन लागेको वरिष्ठ उपाध्यक्ष गुप्ताले बताए ।
उनले लामो समयसम्म लकडाउन जारी रहँदा उद्योग–व्यवसाय चौपट भएको र चरम आर्थिक समस्या आइपरेको हुँदा सो समस्याको समाधान आवश्यक भएकोले छलफल गरेर बन्द उद्योग–व्यवसाय सञ्चालन गर्ने विषयमा ठोस निर्णय लिने बताए ।
वीउवासङ्घले मङ्गलवार दिउँसोदेखि यस विषयमा छलफल चलाए पनि वीरगंज महानगरका पसलहरू आज बिहानैदेखि सञ्चालनमा आएका छन् । प्रशासनले अत्यावश्यक वस्तु दूध, खाद्यान्नको लागि बिहान साढे आठ बजेसम्म पसल सञ्चालनको इजाजत दिएको छ । यो बीचमा लकडाउन लम्बिएपछि वीरगंजका मुख्य सडकबाहेकका क्षेत्रमा पसलहरू लुकीछिपी सञ्चालन भइरहेका थिए । तर आजदेखि मुख्य सडकका पसलहरू पनि दिउँसै सञ्चालनमा आएका छन् । ईदको समयमा मुख्य सडकका पसल अगाडि साहुजीहरू बसेर ग्राहक आएपछि मात्र पसल सञ्चालन गर्दै आएकोमा आज भने सबैले पसल खोलेर व्यवसाय शुरू गरेका छन् । व्यापारीहरूले मुख्य सडकका चालीस प्रतिशतभन्दा बढी पसल सञ्चालनमा आएको बताए । मुख्य सडकमा हिंड्डुल गर्दा पनि डन्डा बर्साउने प्रहरी भने व्यवसायीहरूप्रति आक्रामक देखिएन ।
खुद्रा व्यापारीद्वारा प्रदर्शन
माईस्थान चोकमा साना तथा खुद्रा व्यापारीहरूले प्लेकार्डसहित मङ्गलवार विरोध प्रदर्शन गरेका छन् । सो प्रदर्शनमा इलेक्ट्रिक व्यवसायी, इलेक्ट्रोनिक्स व्यवसायी, रेडिमेड कपडा व्यवसायी, किचेन सामग्री विक्रेता, ठेला व्यवसायी र खाजा पसल व्यवसायीहरूको उल्लेख्य सहभागिता थियो। “पसलमा काम गर्ने कमचारीको तलब, बैंकको ब्याज, घरभाडा, सरकारबाट लिइने चर्को कर कहाँबाट तिर्ने” उल्लेख भएका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन गरेका थिए ।
इलेक्ट्रिक व्यवसायी विजय रौनियारले भने, “गत चैत ११ गतेदेखि लकडाउनको पालना गर्दै झन्डै अढाई महीना हुन लाग्यो, व्यापार पूर्णरूपमा ठप्प रहेको अवस्था छ, काम गर्ने कर्मचारीहरूलाई जेनतेन गरेर अहिलेसम्म पेट भर्दै आइरहेको छु, त्यसमाथि बैंकको फोन आइ नै रहेको छ, कसरी गर्ने, के गर्ने ?” ज्योति इलेक्ट्रिक वर्कशपका सञ्चालक रोशन झाले बैंक ऋण, कर्मचारी खर्च, घरभाडा आदि कहाँबाट तिर्ने भन्दै हरिबिजोग भएको दुःखेसो पोखे । बिसिएच कैफेका सञ्चालक धमसेर राईले भने, “चारजना कर्मचारीलाई अहिलेसम्म पाल्दै आइरहेको छु तर अब थेग्नै मुश्किल छ, सरकारले नियम पालना गराउँदै व्यवसाय सञ्चालन गर्ने अनुमति दिनुपर्छ ।”
साना तथा खुद्रा व्यापारीहरूले तीन तहका सरकारको ध्यानाकर्षणको लागि विरोध प्रदर्शन गरेको बताए । लकडाउनको पूर्ण पालना गर्ने गरी व्यवसाय सञ्चालनको अनुमति प्रदान गर्नुपर्ने उनीहरूको माग रहेको छ ।