भद्रपुर । झापाको मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन स्थानीयवासीको अवरोध नभएको स्थानीय नागरिक सरोकार समाजले जनाएको छ । कोभिड अस्पताल नागरिक सरोकार समाज भद्रपुरले आइतबार पत्रकार सम्मेलन गरी योभन्दा उत्तम विकल्प अरू छैन भने यही भवनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कोभिड अस्पताल बनाउन सरकारलाई आग्रह गरेको छ ।
समाजका अध्यक्ष भक्त खवासले झापामा कोभिडको प्रकोप बढिरहेको बताउँदै सुरक्षित कोभिड अस्पताल बनाउन ढिलो गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड अस्पतालबाट स्थानीय क्षेत्रमा सङ्क्रमण नफैलियोस्, विपन्नहरुको उपचारको भरोसायोग्य केन्द्र मेची अञ्चल अस्पतालको सेवामा कुनै पनि प्रकारको अवरोध उत्पन्न नहोस् र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिमको अस्पताल बनाउन ढिला नगरियोस् ।”
उहाँले प्रदेश नं १ को सरकारले झापामा कोराना अस्पताल बनाउन गरेको निर्णय स्वागतयोग्य रहेको बताउँदै कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले स्थानको चयन गर्दा स्थानीय सरोकारवालाहरुसँग कुनै परामर्श नगरेकामा गुनासो व्यक्त गर्नुभयो ।
मेची अञ्चल अस्पतालका पूर्वअध्यक्ष छत्र अधिकारीले कोभिड अस्पताल बनाउँदा त्रसित हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो अस्पतालको सेवामा समेत कुनै अवरोध आउनुहुन्न, राज्यले ग्यारेन्टी गरेर कोडिभ अस्पताल बनाए आपत्ति हुँदैन ।”
कोभिड अस्पताल बनाउन अवरोध पु¥याएको भन्दै भइरहेको प्रचारप्रति गम्भीर आपत्ति प्रकट गर्दै समाजको नेतृत्वले स्थानीय सरोकारवालाहरुका तर्फबाट कहिल्यै पनि कोभिड अस्पतालको विरोध नगरिएको जनाएको छ । भद्रपुर नगरपालिकाका पूर्वनगरप्रमुख भारतेन्दुकुमार मल्लिकले विकल्प खोजेर भए पनि चाँडो कोभिड अस्पताल बनाउनुपर्ने सुझाव दिनुभयो ।
झापामा हालसम्ममा १११ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । तीमध्ये १०० जना कचनकवल गाउँपालिकाका रहेका छन् ।