रौतहट / रौतहटका स्थानीय तहहरूले आइसोलेशन निर्माण कार्यलाई तीव्रता दिएका छन् । चन्द्रपुर नगरपालिका, माधवनारायण नगरपालिका, देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिकाद्वारा आइसोलेशन निर्माण हुन थालेको हो । चन्द्रपुरको शहीद स्मृति पार्क र गरुडाको मावि महम्मदपुरमा आइसोलेशन निर्माण कार्य थालिएको हो । कोरोना भाइरसको सङ्क्रमण रौतहटलगायत देशभरि तीव्ररूपमा बढ्न थालेपछि आइसोलेशन निर्माण तर्फ नगरपालिकाहरू जुटेका हुन् ।
यसैगरी, चन्द्रपुर नगरपालिका–६ मा स्व. शेरबहादुर दर्लामी खेलमैदानमा निर्माण भएको एन्फा एकेडेमी भवनमा क्वारेन्टाइन बनाइएको छ । यसमा चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाई नगरपालिकाले सहयोग गरेका छन् । निर्माण कार्यको जिम्मा पाएका गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले आइसोलेशन निर्माणको कार्य तदारूकताका साथ थालिएको बताए ।
चन्द्रपुर नगरपालिकाको २५ लाख, वृन्दावन, गुजरा र गढीमाई नगरपालिकाको ४५ लाख रुपैयाँको लागतमा २२ शैøयाको आइसोलेशन निर्माण गर्न लागिएको हो । उक्त आइसोलेशन निर्माण कार्य गाउँबस्तीबाट टाढा एकान्त स्थलमा रहेको छ । राजमार्गसँगै रहेको सो स्थानमा पूर्वाधार निर्माणसँगै कोभिड अस्पताल बनाउनसमेत उपयुक्त स्थान रहेको जनाइएको छ ।
रौतहटमा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये तीनजनालाई नारायणी अस्पताल वीरगंजको आइसोलेशनमा भर्ना गरिएको छ भने आइतवार पुष्टि भएका दशजना र सोमवार पुष्टि भएका आठजनालाई गौरस्थित नर्सिङ इन्स्टिच्युटको आइसोलेशनमा भर्ना गरिएको स्वास्थ्यका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।
सङ्क्रमित बढ्न सक्ने अनुमानसहित क्वारेन्टाइन र आइसोलेशन थप निर्माण गर्नुपर्ने देखिएको छ । यसैगरी, गरुडा, माधवनारायण र देवाही गोनाही नगरपालिकाले संयुक्तरूपमा आइसोलेशन वार्ड बनाउने निर्णय गरेको गरुडाका प्रमुख इन्नुराय यादवले जानकारी गराएका छन् ।
माधवनारायण नपाका प्रमुख वीरेन्द्रराय यादव र देवाही गोनाही नपाका प्रमुख धर्मेन्द्र पटेलका साथै गरुडा इप्रकाका प्रनाउ ज्ञानकुमार महतोको संयुक्त बैठकले ७५ शैøयाको आइसोलेशन वार्ड निर्माण गर्ने निर्णय गरेको छ ।
आइसोलेशन निर्माण गर्ने सहमति अनुसार श्री माध्यमिक विद्यालय महम्मदपुर गरुडा–५ मा आइसोलेशन वार्ड निर्माणको लागि सम्भावित स्थलको निरीक्षणसमेत गरिएको छ । आगामी बुधवार बस्ने तीनै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले यसबारे विस्तृत छलफल गरी अन्य प्रक्रियाहरू अगाडि बढाउने सहमति भएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहमद मुस्ताक आलमले जानकारी गराएका छन् ।