वीरगंज/ भारतको जम्मु–काश्मीरको कटरामा करीब ७० दिनभन्दा बढी समयदेखि फसेका ३४ नेपाली र ७ भारतीयसहित ४१ जना घर फर्किदै छन् । जम्मुका कलेक्टरले बसबाट नेपाली नागरिकलाई बिहारको सीमावर्ती शहरसम्म पु¥याउने तयारी गरेका हुन् । गत मङ्गलवार राति साढे ११ बजे कटराबाट जेके ०२ बिजि ३६३२ नम्बरको बसमा सिआसी–बिहारको रूट भएर ४१ जनालाई घर फर्काउन लागेको कटरामा फसेका वीरगंज–२८ निवासी राजेश तिवारीले जानकारी गराए ।
उनीहरू ५ दिनपछि आइतवारसम्म नेपाल फर्किने बताइएको छ । नेपाली ३४ जनाको टोलीमा एघारजना वीरगंज, दुईजना पर्सा जगरनाथपुर, पाँचजना सिद्धार्थनगर र सो¥हजना रूपन्देहीका रहेको बताइएको छ ।
गत मार्च १२ मा वैष्णोदेवीको दर्शन गर्न गएका उनीहरूलाई कोरोना महामारी फैलिएपछि कटराको टुरिज्म बोर्डको क्वारेन्टाइनमा राखिएको थियो लामो समय कटरामा फस्दा नेपाली नागरिकहरूको साथमा रहेको रकम सिद्धिएपछि मर्कामा परेका थिए । साथै, परिवारजनको चिन्ताले पनि उनीहरू चिन्तित थिए ।
६९ जना नेपाली रक्सौल आइपुगे
भारतको भोपालमा काम गर्दै आएका ६९ जना नेपाली शुक्रवार बिहान रक्सौल आइपुगेका छन् । निजी सवारीबाट रक्सौल आइपुगेकाहरूमध्ये ६३ जना बारा, कोल्हवीका र ६ जना रामेछाप जिल्लाका रहेका छन् । भारत, भोपालमा क्याटरिङ र टेक्सटाइल उद्योगमा कार्यरत ती नेपालीहरू अहिले रक्सौलको रेलवे स्टेशनमा बसेर नेपाल आउने प्रतीक्षा गरिरहेका एसएसबीले जनाएको छ ।
रक्सौलमा रहेका नेपाली स्वदेश आउन पाएनन
भारत रक्सौलको हजारीमल क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई माथिको आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएका छन् ।
बुधवार भारत रक्सौलमा रोकी राखिएका नेपालको २५ जिल्लाका २२२ जना नेपाली नागरिकलाई नेपाल भित्र्याइने जिल्ला प्रशासन कार्यालय पर्साको तयारी थियो। भारतीय सुरक्षाकर्मीले नै नछोडेपछि उनीहरू भित्रिने कुरा अन्योलमा परेको छ ।
रोजगारका लागि भारत गएका नेपाली नागरिकहरू कोरोना भाइरसको सङ्क्रमण बढेसँगै लकडाउनका कारण भारतको सीमावर्ती शहर रक्सौल नाका आइपुग्दा लामो समयदेखि त्यहाँको क्वारेन्टाइनमा बस्नुपरेको छ । केन्द्र तथा राज्य सरकारसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय पर्साले दुवैतर्फका क्वारेन्टाइनमा रोकिएका नागरिकका आफन्तको जिम्मा लगाउने सहमति भएको थियो । जसले गर्दा वीरगंजका विभिन्न क्वारेन्टाइनमा रहेका २१० जना भारतीय नागरिकलाई मङ्गलवार भारत सरकारको जिम्मा लगाइसकिएको छ ।
तर बुधवार भारत सरकारले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत् नेपाल सरकारलाई २२२ जना नेपाली नागरिक जिम्मा लगाउने भनिए पनि सीमावर्ती शहर रक्सौलस्थित पूर्वी चम्पारणका कर्मचारीहरूको आपसी तालमेल नमिल्दा बिहानैदेखि सीमामा पुगेको नेपाली टोली दिनभर रोकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।
“हामी यताबाट भारतीय नागरिकलाई पठाएर आफ्नो देशका नागरिक ल्याउन तयार छौं । सोही अनुसार भारतीय सीमा सुरक्षा बल तथा त्यहाँका डिएमसँग सहमति भएको हो,” उनले भने, “तर सहमति अनुसार भारतीयलाई फिर्ता पठाएर नेपाली नागरिकलाई ल्याउने तयारी पूरा भएपनि नेपाल भित्रिने कुरामा अन्योल उत्पन्न भएको छ ।”
रक्सौलका डिएमले बैठक बसी यता जानकारी गराउने भनिए पनि अहिलेसम्म कुनै जानकारी नआएको सप्रजिअ बस्नेतले बताए ।
नेपाल भित्रिन लागेकाहरूमा पर्साका ४२ जना, पश्चिम रुकुम र बाराका २३÷२३ जनालगायत अन्य २५ जिल्लाका नेपाली रहेको सप्रजिअ बस्नेतले जानकारी गराएका छन् ।
यता मङ्गलवार वीरगंजबाट २१० जना भारतीय नागरिकलाई भारत सरकारको जिम्मा लगाएपछि बुधवारदेखि सयौंको सङ्ख्यामा रहेका भारतीय नागरिक आफ्नो देश फिर्ता हुनका लागि आइसिपीमा रोकिएका छन् । आइसिपीमा पुगेका भारतीय नागरिकलाई भारततर्फ प्रवेश गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको छ । अवरोधका कारण आक्रोशित भारतीयहरू भारत सरकारको विरोधमा नाराबाजी गर्दै थिए ।
नाकामा आएर अलपत्र परेपछि उनीहरूलाई सो क्षेत्रका स्थानीयले खानाको व्यवस्था गरेका थिए । यस विषयमा जिल्ला प्रशासन कार्यालयमा बुभ्mदा अहिले भारतीय प्रशासनबाट कुनै आधिकारिक जानकारी नआएको हँुदा उनीहरूलाई पठाउन समस्या भएको बताएको छ ।