वीरगंज / नारायणी कोभिड अस्पताल वीरगंजमा प्रदेश सरकारले उपलब्ध गराएको पिसिआरबाट परीक्षण रिपोर्ट आउनेक्रम शुरू भएको छ ।
प्रदेश सरकारले वैशाख ४ गते पठाएको पिसिआर मेशिन सञ्चालनमा आउन लामो समय लागेको थियो । आवश्यक यन्त्र, केमिकल अभाव र दक्ष जनशक्ति नभएको कारण पिसिआर सञ्चालनमा ढिला भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट दुईजना चिकित्सकको टोली आएर चारजना प्राविधिक तयार पारेपछि सो पिसिआर हालै सञ्चालनमा आएको हो । पिसिआर मेशिन सञ्चालनमा आए पनि यहाँ तयार गरिएको रिपोर्ट परीक्षणकालमा रहेकोले नारायणी अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट आएको परीक्षण रिपोर्टलाई सार्वजनिक गर्दै आएको थियो । तर अहिले केही दिनदेखि नारायणी कोभिड अस्पतालको पिसिआर रिपोर्ट पनि सार्वजनिक गरिन थालेको एकजना स्वास्थ्यकर्मीले बताए । उनले वीरगंजको पिसिआरबाट तयार भएका केही रिपोर्ट सार्वजनिक भएको बताए ।
अहिलेसम्म वीरगंजको पिसिआर रिपोर्टले कोरोना पोजेटिभ फेला पारेको छैन । स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले वीरगंजको पिसिआर रिपोर्ट सार्वजनिक भइरहेको पुष्टि गरे । उनले केही नमूना टेकु पठाउने गरिएको पनि बताए । सबै स्वाब नमूना वीरगंजको पिसिआरमा परीक्षण गरिए पनि टेकुबाट आएको रिपोर्टसँग मिलान गरेपछि मात्र सार्वजनिक गरिंदै आएकोमा केही दिन पहिलेदेखि केही रिपोर्ट वीरगंजबाटै तयार गरी सार्वजनिक भएको बताए। सम्पूर्ण रिपोर्ट अहिले पनि सार्वजनिक गर्न नसकिएको बताउँदै उनले सोको लागि प्रयास जारी रहेको बताए ।
स्वाब सङ्कलनमा ढिला
सङ्क्रमितहरूको कन्ट्याक्ट टे«सिङ गरेर सम्पर्कमा आएकाहरूको अविलम्ब स्वाब नमूना सङ्कलन गर्नुपर्नेमा निकै ढिला भएको छ । सङ्क्रमित फेला परेसँगै कन्ट्याक्ट टे«सिड्ढो लागि स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाको संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलका संयोजक चौरसियाले कार्यदलले काम गरेर रिपोर्ट दिएको तर स्वाब नमूना सङ्कलन भए नभएको सम्पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय तह र नारायणी कोभिड अस्पतालको हुने बताए । वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण महतोसँग बुभ्mदा उनले महानगरमा देखिएका सङ्क्रमितहरूको हकमा कन्ट्याक्ट टे«सिङमा परेकाहरूको स्वाब नमूना सङ्कलन पिसिआर किट र भिटिएम (स्वाब सङ्कलन गर्ने भाँडो)को अभावमा रोकिएको बताए । उनले बुधवार आठ सय पिसिआर किट आएपछि स्वाब नमूना सङ्कलन शुरू भएको बताए । आउँदो दिनमा पिसिआर किट र भिटिएमको अभावमा स्वाब नमूना सङ्कलन कार्य प्रभावित नहोस् भनेर महानगरपालिकाले सोको व्यवस्थापन गर्ने तयारी गरिरहेको उनले बताए ।
सङ्क्रमित बढ्ने जोखिम
कन्ट्याक्टर टे«सिङमा परेकाहरूको स्वाब नमूना सङ्कलनमा ढिला हुँदा जोखिम बढिरहेको एकजना चिकित्सकले बताए । उनले सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको पहिचान हुन ढिला हुने गरेको र पहिचान भएकाहरूको पनि स्वाब नमूना सङ्कलनमा ढिला हुँदा सङ्क्रमण बढ्ने खतरा रहेको बताए । वीरगंज महानगरपालिकाको वडा नं ३ अहिले सबैभन्दा बढी सङ्क्रमित भएको वडा हो । यो वडामा पछिल्लो समय चैत २४ गते र त्यसपछि जेठ १ गते सङ्क्रमित फेला परेका थिए । त्यसअघि फेला परेका दुईजना सङ्क्रमितको सम्पर्कमा आएका सबैको स्वाब नमूना सङ्कलन भएपनि चैत २४ र जेठ १ गते भेटिएका सङ्क्रमितहरूको सम्पर्कमा आएका मानिसहरूको स्वाब नमूना सङ्कलन हुन सकेको छैन । शुरूका दिनमा सम्पर्कमा आएकाहरूले स्वाब दिन मानेनन् भने त्यसपछि पिसिआर किट र भिटिएमको अभाव रह्यो । अहिले पनि सङ्क्रमित क्षेत्र वडा नं २, १६, छिपहरमाई गापालगायतका स्थानमा बुधवारदेखि स्वाब नमूना सङ्कलन भइरहेको तर वीरगंज–३ छपकैया जहाँ अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमितहरू छन्, त्यहाँ स्वाब नमूना सङ्कलन हुन सकेको छैन । सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको स्वाब नमूना सङ्कलन नभएकोले यो क्षेत्रमा सङ्क्रमण बढ्न सक्ने चिकित्सकहरूले अनुमान लगाएका छन् ।