बीरगन्ज । पर्साको ग्रामीण क्षेत्रमा प्रतिबन्धित लागुऔषधको कारोबार व्यपाक रुपमा बढेको पाइएको छ । प्रहरी र प्रशासन दुवै कोरोना महामारी र रोकथामका लागि केन्द्रित भएको बेला लागुऔषध कारोबारीलाई यो समय सुनौलो समय भएको छ । लाुगऔषध कारोबारीले अहिले पर्साका विभिन्न ग्रामीण इलाकालाई तस्करीको ट्रान्जिट प्वाइन्ट बनाएका छन् । लागुऔषधका कारोबारीका दुई पक्षबीचको लुटपाट र बरामद भएका लागुऔषधका खबरले यस कुराको पुष्टि गर्छ । गज्जब त के छ भने, प्रहरीले नै लागुऔषधको कारोबारलाई प्रशय दिइरहे स्रोतको दाबी छ ।
केही दिन पहिला लागुऔषध कारोबारीका दुई पक्ष बीच झडप नै भयो । लागुऔक्षध गाँजा र चरेश ओसारपसार गर्ने क्रममै एक पक्षले अर्को पक्षको लागुऔषध गाँजा खोसेपछि झडप भएको स्रोतले बतायो । पर्साको ग्रामीण क्षेत्रको उतरी भाग अर्थात पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको बाटोमा तस्करहरुको दुई समूहबीच झडप भएको हो । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने जंगलको बाटो भएर एक समूहले तस्करी गर्न लागेको प्रतिबन्धित लागू औषध गाँजा अर्को तस्कर समूहले लुट्ने क्रममा झडप भएको थियो ।
तस्करको एक समूहले मकवानपुरको मनहरी लगायतका पहाडी क्षेत्र र धादिङका विकट स्थानमा उत्पादित गाँजा पटेर्वा सुगौली गाउँपालिकातर्फ ल्याइरहेको बेला अर्को समूहले लुटेको थियो । पटेर्वा सुगौली गाउँपालिका वडा न २ गादी मन्दिर र मकवानिटोल क्षेत्र अन्तर्गतको सडकबाट ४ बोरामा रहेको करिब ६० किलो गाँजा अर्को तस्कर समूहले लुटेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार पटेर्वा सुगौली गाउँपालिकाको वडा न ५ देउरिया, वडा नम्बर ४ पटेर्वा र वडा नम्बर १ मा अहिले पहाडीक्षेत्रबाट ल्याईएको गाँजा तस्करहरुले भण्डारण गर्ने गरेका श्रोतको दाबि छ ।
त्यस क्षेत्रमा हुनेगरेको अवैध गतविधिमा स्थानीय प्रहरीको पनि मिलोमतो हुने गरेको स्रोतको दाबी छ । त्यसक्षेत्रमा अहिले लागू औषध गाँजाको तस्करी मौलाएको स्थानीयले बताएका छन् । लुटिएको गाँजा लुटेका तस्कर समूह र लुटिएका तस्कर समूहबीच गादीमा फिर्ता गर्ने विषयमा गोप्य छलफल गरेको पनि स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले भने त्यस्तो खबर आपूmले नपाएको र यदि त्यस्तो भए खोजी गरेर कारवाही गर्ने बताउनुभयो ।
यसअघि, ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारको नेतृत्वमा गएको गस्ती टोलिले छापामारी गरी चरेस बनाउने धुलो र गाँजा बरामद गरेको थियो । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरियाका स्थानीय पल्टन चौधरीको गोठमा गाँजा र चरेश लुकाएर राखेको विशेष सुचनाको आधारमा छापामारी गरि चरेस बनाउने धुलो १८ किलो र गाँजा साढे पाँच किलो बरामद गरेको हो । बरामद गरिएको गाजा र चरेशको धुलो आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घरधनी चौधरी फरार रहेकोले खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिनुभयो ।