पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जीवनलाई जोखिममा राखेर मानव अस्तित्व र मानव स्वास्थ्यको रक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।
विश्व नर्स दिवसका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले कोरोना भाइरसविरुद्धको लडाइँमा प्रत्यक्ष जुटिरहँदा नर्सिङ र स्वास्थ सेवाको महत्व र कर्मलाई अझ गहिराइमा पुगेर बुझ्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका क्रममा यसलाई प्राथमिकताका साथ लिइने विश्वास व्यक्त गर्दै उहाँले सन्देशमा कोरोना भाइरसविरुद्धको लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस विश्व सङ्कटको बेलामा अझ दृढतापूर्वक जुट्न आजको ऐतिहासिक दिनले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।