चन्द्रौटा । भारतका विभिन्न क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नेपाली नागरिकलाई नेपाल–भारत दशगजा क्षेत्रमै खाना र बस्नका लागि व्यवस्था मिलाइएको छ । कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिएपछि उनीहरुलाई दशगजा क्षेत्रमै खाना र बस्नको व्यवस्था गरिएको हो ।
कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले सीमामा अलपत्र नागरिकका समस्या पहिचान गरी दशगजा क्षेत्रमा पुगेर नगर क्षेत्रभित्रका सीमामा रहेका नेपालीलाई खाना र पालको व्यवस्था गरिएको बताउनुभयो ।
त्यस्तै सीमामा पर्ने महाराजगञ्ज नगरपालिकाले पनि सीमामा रहेका नागरिकलाई खाना र बस्नको व्यवस्था गरेको नगरप्रमुख अब्दुल कलामले बताउनुभयो । रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेका नेपाली कोराना भाइरसको संक्रमणको जोखिम बढेपछि नेपाल प्रवेश गर्न थालेका हुन् । भारतले नेपाल पठाउने र नेपालले प्रवेश गर्न नदिँदा उनीहरु सीमा क्षेत्रमै त्रिपाल टाँगेर बस्न बाध्य छन् ।
जिल्लाका कृष्णनगर, भिल्मीमा चाकरचौडामा हरदौनामा र मर्दादपुरमा गरी ३०७ नेपाली नागरिक सीमा क्षेत्रमा रहेको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताउनुभयो । पछिल्लो समयमा भारतीय प्रहरी तथा सीमा सुरक्षा बलले भारतबाट नेपाल आउने नेपालीका लागि खुकुलो गरेका कारण लुकिछिपी आउनेको संख्या बढेको छ ।
आफूहरुलाई भारतीय प्रहरीले नै नेपाल जान भनी पठाएको मायादेवी गाउँपालिकाका बुद्धिराम रैदासले बताउनुभयो । दशगजा क्षेत्रसम्म आएका नागरिकका विषयमा भारतीय प्रहरीसँग छलफल भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।