पर्सा । वीरगञ्जको छपकैयाबाट आज थप दुईजना नोभल कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २ र ३ निवासी दुवै जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि दुवै जनालाई वीरगञ्ज नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ ।
कोरोना सङ्क्रमित हुनेमा एकजना वीरगञ्ज महानगरपालिकाको सरसरफाइ शाखामा कार्यरत कर्मचारी नै भएकोे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदत उपाध्यायले जानकारी दिनुभयो । उहाँले चार दिन अगाडि छपकैमा सङ्कलन गरिएको ५२ जनाको स्वाबको नमूना जाँचका लागि काठमाडाँैको टेकु पठाइएकामा सोमध्ये दुईजना पुरुषको रिपोर्ट पोजिटिभ आएपछि दुवै जनालाई आइसोलेशनमा राखी उपचार शुरु गरिएको बताउनुभयो ।
सङ्क्रमित फेला परेको क्षेत्रलाई ‘सिल’ गर्दै सङ्क्रमितका परिवारलाई घरमै राखी निगरानी तथा परीक्षणको कार्य अगाडि बढाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । छपकैयाबाट थप दुईजना सङ्क्रमित फेला परेपछि आज बिहानैदेखि सो क्षेत्रमा बाहिरबाट हुने आवतजावतमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
वीरगञ्जको नारायण अस्पतालमा रहेको पहिलेको पाँच सङ्क्रमितमध्ये चारजनाको स्वाब रिपोर्ट नेगेटिभ आएप्छि उनीहरुलाई आज घर पठाइएको छ । नेगेटिभ रिपोर्ट आउनेमा तीन भारतीय र एकजना रौतहट निवासी १९ वर्षीय युवक रहेको अस्पतालले जनाएको छ । नारायणी अस्पतालमा हाल तीनजना कोरोना सङ्क्रमित रहेका छन् ।