काठमाडौं । आज थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताएका छन् ।
मस्जिदमा बसेका १६ जना जमती मध्ये ११ भारतीय र एक नेपालीमा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो भने ६ गते अर्का एक नेपालीमा संक्रमण देखिएको थियो ।
सोही समूहका संक्रमण नदेखिएका तीन जनालाई टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। देवकोटाले बताएका छन् ।
नुरी मस्जिद वरपरका ८ जनामा कोरोना संक्रमण भएको मंगलबार मात्र पुष्टि भएको थियो ।
आज थपिएका तीन जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भएर घर फर्किसकेका छन् ।