विराटनगर । प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’मा मङ्गलबार थप रु २० लाख जम्मा भएको छ । कोषमा अहिलेसम्म रु ११ करोड ८५ लाख ७४ हजार ५५० जम्मा भइसकेको छ । प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरिएको छ । राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कोषमा बैंक, सङ्घसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग गर्ने क्रम जारी छ । कोरोना भाइरस सङ्क्रमित बिरामीहरुलाई उपचार गर्ने प्रदेशको एक मात्र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रलाई मङ्गलबार विभिन्न सङ्घसंस्थाले रु १३ लाख ३० हजार ७१५ बराबरको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएका छन् । उपलब्ध गराइएका सामग्रीमा रु सात लाख ७६ हजार १७३ बराबरको ३० वटा श्यया, रु चार लाख ६४ हजार ५४२ बराबरको व्यक्तिगत सुरक्षा उपकरण, रु ६० हजार बराबरको कार्डिक मोनिटर र रु ३० हजार बरारको पल्स अक्सिमिटर रहेका छन् ।
प्रदेशमा कार्यरत लुथरन विश्व फेडेरेसन, आइपास, करुणा फाउन्डेसन, सेभ द चिल्ड्रेन, आड्रा, वन हार्ड वल्र्डवाइड, एनएसआई, प्लान इन्टरनेशनल र पीएसआईले कोभिड–१९ उपचारका लागि सङ्घीय सरकारलाई रु ४५ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने योजना रहेको सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना प्रवन्धक हरिबोल बजगाईंले जानकारी दिनुभयो ।