भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा अवैधरूपमा नगर क्षेत्रमा प्रवेशका गरेका २० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । लकडाउनको समयमा बाहिरी जिल्लामा घुमेर आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरुलाई मङ्गलबार वडा नं १४ बोयाको सिंहदेवी आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरी राखिएको नगरपालिकाले जनाएको छ । बोया घर भएका २० जना नै जोगी हुन् । उनीहरू गत फागुन १८ गतेदेखि पूर्वका जिल्लाहरुमा फेरी लगाउन निस्की लकडाउन शुरु भएको तीन÷चार दिनमा त्यहाँ आएको जनाइएको छ ।
सरकारले कोरोनाका कारण लकडाउन घोषणा गरेको अवस्थामा उनीहरु आएकाले आवश्यक सुरक्षाका लागि उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको नगरपालिका उपप्रमुख मेरिका राईले जानकारी दिनुभयो । क्वारेन्टाइनमा दुई स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी रहेको उहाँले बताउनुभयो । नगरपालिकाले ५० श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । यसअघि क्वारेन्टाइनमा रहेका १३ जनाको स्वास्थ्य अवस्था राम्रो पाइएपछि उनीहरुलाई छाडिएको छ ।