विराटनगर । लकडाउनको समयमा अस्पतालहरुमा रगतको अभाब भएपछि राष्ट्रिय युवा संघ नेपाल, पथरी शनिश्चरे नगर कमिटी, मोरङले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रेडक्रस सोसाइटिको प्राबिधिक सहयोग मंगलबार जनआन्दोलन चोकमा आयोजित रक्तदान कार्यक्रममा ६३ पाउण्ड रगत संकलन भएको बताइएको छ ।
“रक्त दान जीबन दान” भन्ने नारालाई सार्थक बनाउँदै रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको र यो अभियान जारी रहने युवासंघले जनाएको छ ।
विपद्को समयमा ‘रगत दान ः जीवन दान ः युवाको अभियान’ भन्ने नारा सहित आयोजित रक्तदान कार्यक्रममा रेडक्रम नेपाल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्राविधिक सहयोग र इलाका प्रहरी कार्यालय पथरी (क) को सहकार्य रहेको थियो ।
नेकपा प्रदेश नं. १ कमिटी सदस्य युवराज बास्कोटाबाट रक्तदान आरम्भ गरिएको थियो । नेता वास्कोटाले कोरोना भाइरस संक्रमणबाट बच्न कार्यान्वयनमा ल्याइएको लकडाउन, घरायसी क्वारेन्टाइन र स्वास्थ्य मन्त्रालयबाट जारी आचारसंहिता र ‘सामाजिक दूरी’ को मान्यता अनिवार्य अनुसरण सहित कार्यक्रम आयोजना गरिनु आफैमा असाधारण काम भएको भन्दै खुशी व्यक्त गर्नु भएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीले लकडाउनको अवधि बढेसँगै रगतको अभाव पनि बढ्दै गएका बेला रक्तदान कार्यक्रम गर्ने प्रस्तावले सह्रानीय रहेकाले सहर्ष स्वीकार्दै सहकार्य गरिएको बताउनु भयो ।
मोरङ युवा ईञ्चार्ज विजय डाँगीले कोरोना भाइरस संक्रमण रोकथाम र विपद् व्यवस्थापनका लागि रगत कुनै पनि बखत आवश्यक पर्नसक्ने भएकोले ‘बृहत् रक्तदान’ कार्यक्रम आयोजना गर्ने टुङ्गोमा पुगेर कार्यक्रम आयोजना गरिएको बताउनु भयो । डाँगीले भन्नुभयो “लकडाउनको अवस्थामा रक्तदाताहरुको कमी हुने हो कि भन्ने आशंका हामीलाई थियो । तर उल्लेख्य दाताहरू आउनुभयो । अपेक्षाभन्दा बढी रगत संकलन भएको छ । यसले गर्दा हामी उत्साहित भएका छौं ।”
सिंगो मानवजाति कोरोना भाइरस संक्रमणको मनोवैज्ञानिक त्रासबाट गुज्रिएको असामान्य अवस्थामा पनि रक्तदान कार्यक्रम आयोजना गरेर कुनै पनि बखत चाहिन सक्ने रगतको जोहो गर्न सकिएकोमा धेरै खुशी लागेको युवा नेता मणिकुमार सुब्बाले बताउनु भएको छ ।
रक्तदान कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का अध्यक्ष बाबुराम ऐङदेन लिम्बु, जनप्रतिनिधिहरू अरूणा राईं, अनोज घिमिरे, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, सुनम वनेम, नवीनजंग कार्की, सञ्जीव गिरी, रोहित बास्तोला, भक्तबहादुर राईं, पत्रकार अर्जुन जम्नेली राईं, स्थानीय व्यवसायी हेमचन्द्र बास्तोला, विश्वमणि निरौला, सुमन कुरुङबाङ, नैना साम्पाङलगायत स्थानीय व्यक्तित्वहरू रगत दानमा संलग्न रहेका थिए ।
त्यस्तै पथरी उद्योग वाणिज्य संघका सल्लाहकार माधवप्रसाद कोइराला, युवा सामाजिक अभियन्ता सन्तोष ढुङ्गेल, रोशन बुढाथोकी, सञ्चारकर्मी अर्जुन काफ्ले, भीम अधिकारी, एलिना दियालीलगायतको उपस्थिति रहेको थियो ।