विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नभएसम्म बैठक स्थगन भएको जानकारी दिनुभएको छ । प्रदेशसभाको चालू अधिवेशन २०७६ माघ २३ गतेदेखि शुरु भएर आज २२औँ बैठक सम्पन्न भएपछि सभामुख भण्डारीले सो जानकारी दिनुभएको हो ।
प्रदेश वातावरण विधेयक पारित
चालू अधिवेशनमा सदन विभिन्न विधेयक पेश भए पनि आज ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित भएको छ । प्र्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।
प्रदेश १ का बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आजदेखि समाप्त भएको छ । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेरले बालबालिकाको अधिकारलाई व्यवस्थित गर्न विधेयकले भरपूर मद्दत गर्ने बताउनुभयो । बालगृह, बालआवास तथा भ्रुण हत्याजस्ता विधेयकमा स्पष्ट व्यवस्था भएकाले प्रारम्भिक बालबालिकाको उमेर पाँच वर्ष कायम गरिएको उहाँले बताउनुभयो । सैद्धान्तिक छलफलमा १० सदस्यले आ–आफ्नो धारणा राख्नुभएको थियो ।