चिप्लेढुङ्गा । पोखरा प्राकृतिक सुन्दरतासँगै कला, साहित्य र रङ्गमञ्चले पनि थप परिचित हुँदै गएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । विसं २०७४ फागुन २ गते औपचारिक उद्घाटन भएको नाटकघर दुई वर्ष विभिन्न विषयका ४७ नाटक मञ्चन गरेर पोखरेलीलाई रङ्गमञ्चको स्वाद दिन सफल भइसकेको छ । तीमध्ये पोखरा थिएटरको आफ्नै प्रस्तुतिका भने १० नाटक रहेका छन् ।
नाटकघरमा उद्घाटनको वर्ष फागुन १५ गते सरुभक्त श्रेष्ठको लेखन र सोमनाथ खनालको निर्देशनमा नाटक ‘सिरुमारानी’ मञ्चन भएको थियो । सिरुमारानी पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएपछिको पहिलो मञ्चन भएको नाटक हो जसलाई पोखरा थिएटरले आफ्नै प्रस्तुतिमा मञ्चन गरेको थियो । दर्शकमाझ यस नाटकले आफ्नो विशेष छाप छाड्दै रङ्गमञ्च दर्शकलाई तान्न सफल भएको थियो ।
सोही वर्ष फागुन २६ र २७ गते अर्जेन्टिनाको नाटक मान्द्रागोरा सर्कस देखाइयो । विश्व रङ्गमञ्च दिवसका अवसर पारेर सोही वर्ष चैत ८ देखि १५ गतेसम्म राष्ट्रिय नाटक महोत्सवको आयोजनासमेत पोखरा थिएटरको गन्धर्व नाटकघरमा भयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा पोखरामा भएको राष्ट्रिय नाटक महोत्सवमा १० नाटक मञ्चन भएका थिए ।
गन्धर्व नाटकघरको स्थापनासँगै पोखरामा नाटक हेर्न संस्कृतिको विकास हुँदै गएको छ । नाट्य क्षेत्रमा नयाँ पुस्ताको आगमनका लागि विभिन्न कार्यक्रममार्फत नयाँ पुस्ता, पुराना पुस्ता र युवा पुस्ता सबैको ध्यान रङ्गमञ्चतर्फ मोडिन सघाएको छ । दोस्रो वर्षको शुरुआतमै अन्तर्राष्ट्रिय नाटक महोत्सव हुनाले पनि यसलाई सकरात्मकतातर्फ उन्मुख बनायो । जहाँ मञ्चन भएका नाटकमा ब्ल्याक एन्ड ह्वाइट, इन ट्रान्जिट, लब एन्ड लाइफ, प्राइभेट कन्फेन्शन, मेमोरी यार्ड, गैडा टाइम्स र घेरो थिए । नाटक बाकस, तिर्खा, मरो बचपनको साथी, योनीका कथाहरु, एक चिहान, ऊ मरेकी छैन, प्राइभेट इज पोलिटिकल, मुना मदन दोस्रो वर्ष मञ्चन भएका नाटक हुन् ।
दोस्रो वर्ष आयोजना गरिएको महानगरस्तरीय विद्यालय नाटक महोत्सवमा कोही किन बर्बाद होस्, ऐना, गलबन्दी, गीति नाटक मुनामदन, मेरो बचपनको साथी, आधा मरेका सन्तानहरु, आह्वान, डाँडाखेत र मित्रतामा धोका मञ्चन भए जसले विषयवस्तु र प्रस्तुतिलाई पनि पोखरेली दर्शकले निकै रुचाए । पोखरा थिएटरमा दोस्रो वर्ष ३० हजार दर्शकले नाटक हेरेकोे थिएटर अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो ।
थिएटरकै कलाकारले विभिन्न विद्यालयमा अभिनय कक्षामार्फत रङ्गमञ्चमा नयाँ पुस्ताको आकर्षण थप्ने कार्यलाई तीव्रता दिइरहेको उहाँको भनाइ छ । बालबालिका तथा अन्य रङ्गकर्ममा लाग्न चाहनेका लागि निरन्तर अभिनय कार्यशाला हुँदा अभिनय क्षेत्रमा अगाडि बढ्न खोज्नेमा उत्साह र अवसर ल्याइदिएको उहाँ बताउनुहुन्छ ।
यही फागुन ९ गतेबाट गन्धर्व नाटक घरमा यो ‘कस्तो महाभारत नाटक’ मञ्चन भइरहेको छ । दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेशका अवसरमा मञ्चन भएको यस नाटक पोखरा थिएटरको ११औँ प्रस्तुतिमा मञ्चन भएको हो । दीपक पराजुलीले लेखेको नाटकलाई पञ्च सुब्बा गुरुङले परिकल्पना तथा निर्देशन गर्नुभएको छ । गुरुङको यो डेब्यु निर्देशन हो । उहाँसँग यस अगाडि सह–निर्देशन र कलाकार भएर काम गरेको अनुभव रहेको छ । एक घण्टाको यस नाटकलाई उत्कृष्ट बनाउने प्रयासमा निर्देशक र कलाकारको मेहनत राम्रो छ ।
नाटक हेरिसकेपछि दर्शक बृहस्पति लम्सालले महाभारत भनेको हिजो र आजको समय चलिरहेको खेलको विम्बात्मक प्रस्तुति रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हिजोको महाभारत कौरव र पाण्डवबीचमा थियो आजको महाभारत राजनीतिक दलभित्रको द्वन्द्व र सत्ताको लुछाचुँडीबीच रहेको छ, नाटकले समसामयिक राजनीतिको खिचातानीको दरिलो सन्देश बोकेको छ ।” हिजो र आजको समय परिस्थिति बदलिए पनि सत्ता प्रतिको लोभ र लालचा आज पनि उस्तै रहेको यो कस्तो महाभारतको सन्देश भएको उहाँको बताउनुभयो । निर्देशक पञ्च सुब्बाले दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको र यो कस्तो महाभारत यही फागुन २४ गतेसम्म प्रदर्शन गरिने जानकारी दिनुभयो ।
(रासस)