रौतहट । रौतहटस्थित स्थानीय प्रशासन र जिल्ला समन्वय समितिको संयुक्त अनुगमन टोलीले लालबकैया नदी उत्खनन तथा नदीजन्य पदार्थ ओसार्न प्रतिबन्ध लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे नेतृत्वको संयुक्त टोलीले फतुवा विजयपुर र गुजरा नगरपालिकाको सिमानाभित्र पर्ने नदीको स्थगलत अनुगमन गरी नदी उत्खनन तथा नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएको हो ।
फतुवा विजयपुर र गुजरा नगरपालिकामा पर्ने लालबकैया नदीको सबै घाटबाट अर्को आदेश नआएसम्म उत्खनन तथा नदीजन्य पदार्थ ओसारपसार नगर्न प्रजिअ घिमिरेले साह निर्माण सेवाका अध्यक्ष नागेन्द्र साहलाई बुधबार साँझ निर्देशन दिनुभयो । उहाँको निर्देशनगलत्तै रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिराज खड्का र सशस्त्र प्रहरी ११ नं रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजितले पनि गुजरा र फतुवा विजयपुरको सिमानाभित्र पर्ने लालबकैया नदी निगरानी गर्न मातहतका प्रहरी एकाइलाई निर्देशन दिनुुभएको छ ।
लालबकैया नदीको नदीजन्य पदार्थ उठाउन साह निर्माण सेवाले ठेक्का लिएर सरकारको नीतिविपरीत नदीको बीच धारमा ठाउँठाँउमा जेसिभी र स्काभेटर प्रयोग गरी ठेकेदारले पोखरीको स्वरुप ठूलाठूला खाडल बनाएका छन् ।
अनुगमनमा त्यस्तो पाइएपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले नदीजन्य पदार्थ नउठाउन निर्देशन दिनुभएको हो । सरकारले तोकेको नीतिमा नदीको छेउमा बढीमा दुई मिटरसम्म खनेर नदीजन्य पदार्थ उठाउन सकिने व्यवस्था गरेको जिल्ला अनुगमन समितिका सभापति रामएकवाल यादवले बताउनुभयो ।
तर ठेकेदारले लालबकैया नदीको बोटवा, गर्जा, पशुपति छेउको घाटलगायत दर्जन बढी स्थानमा जेसिभी र स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालेर खोलाको बीचमा ठूलाठूला खाडल बनाएको सभापति यादवले बताउनुभयो । केही समययता लालबकैया नदीबाट गिट्टी, ग्राभेल, बालुवा निकालेर दर्जनाँै ठेकेदारले जिल्लाको छुटाछुटै स्थानमा ठूलो मात्रामा भण्डारण गरेको देखिएको छ ।
निर्माणकार्यमा लाग्ने लागतअनुसार नदीजन्य पदार्थ उठाउन राख्न सकिने व्यवस्थाबिपरीत ठेकेदार तथा क्रसर उद्योगीले नदीजन्य पदार्थको ठूलो भण्डारण गरेको अनुगमनमा पाइएको छ । त्यसअघि टोलीले बौधीमाई नगरपालिका फतुवा, विजयपुर, गुजरालगायतका स्थानीय तहमा सञ्चालित क्रसर उद्योगको स्थलगत अनुगमन निरीक्षण गरेको थियो ।
संयुक्त अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादव, इन्द्र बक्स गण नेपाली सेनाका गणपति सामन्तध्वज खाँड, प्रहरी उपरीक्षक रबिराज खड्का, सशस्त्र उपरीक्षक रबीनराज कर्णजित, घरेलु तथा साना उद्योग कार्यालय गौरका नायबसुब्बा प्रमोद बर्मा, फतुवा विजयपुर, गुजरा नगरपालिकाका प्रतिनिधिलगायतको सहभागिता थियो ।
(रासस)