चितवन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताउनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भवनको शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने र अपराधीले उन्मुक्ति पाउन सक्ने औल्याउनु भयो ।
पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उहाँले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक वर्षमा दुई हजारभन्दा बढी फौजदारी मुद्दा दर्ता हुने गरेकाले ती जिल्लामा सह–न्यायाधिवक्ता राख्नुपर्ने उहाँको भनाइ थियो ।
एक सय ५० वटा मुद्दालाई हेर्न एकजना सरकारी वकिल चाहिने भए पनि त्यसअनुरुपको जनशक्ति अभाव रहेको उहाँले बताउनुभयो । उजुरी परेपछि तत्काल पक्राउभन्दा पनि अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने उहाँको धारणा थियो । कारागार व्यवस्थित हुन नसक्दा त्यहाँ बस्नेको जीवन कष्टकर हुने गरेको भन्दै उहाँले यसलाई सुधार गृहको रुपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले न्याय सम्पादन छिटो र छरितो हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल, जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावल, जिल्ला अदालत बार एशोसिएशन चितवनका अध्यक्ष कमल पाठकलगायतले बोल्नुभएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माणका लागि ललितपुरको हनुमान कन्ट्रक्सनसँग सम्झौता भएको छ । सो कम्पनीले रु चार करोड ९८ लाख ७१ हजानर १४१ मा बोलपत्र सकार गरेको हो । विसं २०७८ मङ्सिर १८ गतेसम्ममा भवन सम्पन्न गर्नुपर्ने हुन्छ ।
साढे तीन तले अपाङ्गमैत्री भवनमा २४ कोठा हुनेछन् । थुनुवा कक्ष, बयान कक्षसहितको सो भवनमा छ जना सरकारी वकिल रहन सक्ने गरी कोठा व्यवस्थापन गरिएको छ ।