काठमाडौं । विरामी बोक्टे एम्वुलेन्समा ३० केजी गाँजा फेला परेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका– २९ बाट शनिबार साँझ करिब ७ बजे प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित बा२झ १७४९ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका ९ का ३९ वर्षीय महमद खलिद, डुमरिया ४ का १९ वर्षीय अशोक कुमार र भारत बिहार मोतिहारी वसन्तपुरका २२ वर्षीय विनोद सहनी रहेका छन् ।
गोप्य सूचनाको आधारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीन वटा झोलामा ६ वटा पोका बनाएर लुकाइ राखेको ३० किलो ६ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ९१ हजार नेपाली रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ‘एसपी’ सुशिलसिंह राठौरले जानकारी दिएका छन् ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही अघि बढाइने बताइएको छ ।