बेइजिङ । कोरोना भाइरसका कारण चीनमा ५६ जनाको मृत्यु भइसकेको छ भने झण्डै दुई हजार जना भन्दा बढी प्रभावित बताइएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोग चीनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । ती मध्ये ३२४ जनाको अवस्था गम्भीर छ ।
त्यस्तै यो भाइरसका कारण विरामी भएकाहरु निको भएर करिब एक हजार जना अस्पतालबाट घर फर्किएका छन् । उनीहरुलाई विशेष निगरानीमा भने राखिएको बताइएको छ ।
सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ ।
ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।
सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।
सङ्क्रमणबाट चीनमा मात्रै मृत्यु भएपनि संक्रमितहरु अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास पैदा भएको छ ।
चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाई छ ।
उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्को एक समस्या हो ।
यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी बिमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ । एजेन्सी
























