काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पोखराबाट पक्राउ परेका छन् ।
सांसद गुरुङविरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सार्वजनिक मुद्धा दर्ता गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकका प्रहरीले उनलाई लेकसाइडको होटेल प्याराडाइजबाट आज पक्राउ गरिएको बताइएको छ । उनी माथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हातपात गरेका थिए ।
सांसद मनाङ्गेले मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । उक्त मागबारे सम्बोधन गर्दै गर्दा आवेशमा आएर सार्वजनिकस्थलमै मनाङ्गेले अध्यक्ष गुरुङलाई मुक्का हानेका थिए ।