काठमाडौं । उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालनको खाता रोक्का भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईका अनुसार उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई समेत पत्राचार गरिएको छ ।
सर्लाहीमा अन्नपूर्ण चिनी मिल सञ्चालन गर्दै आएका राकेशकुमार अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरेपनि किसानसँग भएको सम्झौता अनुसार माघ ७ को भाका कट्दासम्म अझै ४२ करोड किसानको बक्यौता रहेको बताइएको छ । उनले ३ करोड ९० लाख रुपैयाँ मात्र किसानलाई दिएका छन् ।
त्यस्तै नवलपरासीमा लुम्बिनी चिनी उद्योग सञ्चालन गर्दै आएका मनिष अग्रवालको मृत्यु भइसकेको र किसानको रकम भुक्तानी गर्न आग्रह गर्दा उद्योग सञ्चालकको परिवार सम्पर्कमा नआएकाले बैंक खाता रोक्का गर्नु परेको मन्त्रालयले जनाएको छ । सो उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । लुम्बिनी चिनी मिल सरकारी स्वामित्वको भएपनि अग्रवालले भाडामा लिएर सञ्चालन गर्दै आएका थिए ।
त्यस्तै महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ लाख र बाबा बैजुनाथ चिनी मिलले पनि किसानको रकम दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको सम्पर्कमा आएका ती उद्योगका सञ्चालनकहरुले रकम दिने प्रक्रियामा रहेको बताएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।