काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको आज उद्घाटन गर्नु भएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेर भिडियो कन्फ्रेसमार्फत् संयुक्त रुपमा विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले सो अवसरमा नेपाल सन् २०१५ मा महाविनाशकारी भूकम्पका समयमा भत्किएका भौतिक पूर्वाधार निर्माणमा भारतको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले करिब ४ महिना अघि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मोदीसँगै गरेको स्मरण जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्ने कुरा नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धको संज्ञा भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले वार्ताका माध्यमबाट नेपाल–भारतबीच थाँती रहेका मुद्दालाई दुई देशको दीर्घकालीन हित हुने गरी सुल्झाउने बेला आएको पनि बताउनु भयो । उहाँले दुबै देशमा स्थायी र बहुमतको सरकार भएकाले यो उपयुक्त अवसर भएको पनि मोदीलाई स्मरण गराउनु भयो ।
प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको पनि बताउनु भयो । त्यसका लागि
सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची तय गर्ने जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल र भारत इतिहास, भूगोल र संस्कृतिका हिसाबले नजीकका छिमेकी भएका नाताले आपसी सहकार्यलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिनुभयो ।
जवाफमा भारतीइ प्रधानमन्त्री मोदीले आफू यस वर्ष सन् २०२० मा पक्कै नेपाल आउने जनाउँदै भन्नुभयो,“यस वर्ष म नेपाल आउने कार्यक्रम मिलाउँछु । अवश्य पनि नेपाल र नेपालीको दर्शन गर्नेछु ।”
भारतीय प्रधानमन्त्री मोदीले सो एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताउनुभयो । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र गत वर्ष वीरगञ्जमा जाँचचौकीको सञ्चालन गरिएको स्मरण गर्दै उहाँले आगामी दिन पनि अन्य कुनै स्थलमा एकीकृत जाँचचौकीको निमार्ण गरिने बताउनुभयो ।
गोरखा भूकम्पमा नेपालीले भोग्नुपरेको दर्द र त्रासदीमा पहिलो उद्धारकका रुपमा भारतले सघाएको उल्लेख गर्दै उहाँले हाल निर्माणाधीन भवनहरु बलियो हुने अपेक्षा व्यक्त गर्नुभयो ।