काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेको आरोप लगाएका बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको हो ।
घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध उपाध्यक्ष गिरीले
मानहानीको मुद्दा हालेका थिए । अदालतले सोही मुद्दामा प्रसाइँलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि प्रहरी उनलाई समात्न घरमै पुगेको थियो। तर, उनी फरार रहेको प्रहरी स्रोतले बताएको छ ।
गिरीले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको आरोप पनि प्रसाईमाथि लगाएका छन् ।
प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको बताइएको छ । बुधबार साँझबाटै मोबाइल स्वीच अफ गरेर उनी सम्पर्कविहीन भएको बताइएको छ ।
प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर डा। गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए । द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाईंको दाबी छ । तर उपाध्यक्ष गिरीले सो आरोप अस्वीकार गर्दै प्रसाईमाथि मानहानीको निवेदन दिएका हुन् ।
यसैवीच जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिएको छ ।
बिहीबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई लिखित जवाफसहित २१ दिनभित्र अदालतमा उपस्थित हुन भन्दै सूचना जारी गरेको हो ।
आयोगका उपाध्यक्ष गिरीले प्रसाईविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।